भैरहवा । भारतीय मालवाहक गाडी निरुत्सहित गर्न यातयात व्यवसायी सडकमा सुत्न तयार रहेको बताएका छन् । ओभरलोड बोकेर निर्वाधरुपमा भारतीय मालवाहक गाडीले सामान ओसारपसार गरेर धरासायी भएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी समिति लुम्बिनी प्रदेशले पत्रकार सम्मेलन गरी आन्दोलनको तयारी गरेको हो ।
सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्ने हो तर पटक पटकको अनुरोध गर्दा समेत वास्ता नगरेपछि अब हामी यातायात व्यसायी नै आन्दोलनमा उत्रिनु बाहेक विकल्प नरहेको नेपाल ट्रक यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल बताए ।
भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमता भन्दा बढि सामान बोकेर नेपाल प्रवेश गरेकोले नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन , अब एक मुठी पनि भारतीय ओभरलोड रहेका समान सहितको ट्रक नेपाल छिर्न दिदैनौ । हामी भारतिय गाडीसँग प्रतिस्पर्धा गर्न सक्दैनौ, न्युन लागतमा भारतिय गाडीले नेपालभरी निर्वाधरुपमा ओभरलोड सहित ढुवानी गरेर हामी यातायात व्यवसायी बेरोजगार हुन पर्ने अवस्था आएको उनले बताए ।
सरकारले असार २९ गते समायोजन सहित भाडा दर कायम गरेकोले आजबाट सो भाडादर कार्यान्यवयन गर्न सबै यातायात व्यवसायीलाई आग्रह गर्दै उनले ओभरलोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने, भारतिय ट्रकबाट झिनो रकम जरिवाना लिएर ओभरलोड चलाउन थालेपछि अर्बौका पूर्वाधार मासिदै गएको बताए ।
हामीले राज्यले तोकेको भाडा लिएको खण्डमा सिण्डिकेटको आरोप आउने गरेको बताउदै लुम्बिनी ट्रक व्यवसायी समितिका अध्यक्ष विष्णु खरेलले व्यवसायीहरु एक नभए सम्म र भाडामा एकरुपता नभएसम्म यो समस्या समाधान नहुने बताए । हामीले एक ठाँउबाट काउन्टर टिकट काटे जस्तै भाडा ट्रकको भाडा बुझाएर मात्र सेवा दिनु पर्ने उनले बताए ।
७ वर्ष पछि सरकारले भाडा समायोजन गरेकोले यसलाई कार्यान्यनवयन गर्न संघले सबैलाई आग्रह गरेको छ । । सरकारले असार २९ गते निर्णय गर्दै नेपालका बिभिन्न ६१ स्थानका लागी मालबाहक सवारीको लागी भाडादर तय गरेको छ ।
जुनसुकै देशको सवारीसाधान नेपाल आए त्यहँको कानुनलाई मान्नु पर्ने भएपनि दैनिक रुपमा भारतिय गाडी सेटिङको रुपमा ७२ घण्टाको नाममा नेपाल प्रवेश गरेर ओभरलोड बोकेर देश भर घुमिरहेको महासंघको आरोप छ । ओभरलोड नबोकी नेपाल आएका गाडी केही हद सम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्न सक्ने भएपनि प्रतिबन्धित गाडी नेपाल आउदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने नेपाल ट्रक यातायात ब्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले भने ।
उनले प्रमुख नाका बिरगंज र भैरहवाबाट यसको थालनी गरी ओभरलोड नियन्त्रण र भारतिय गाडी प्रवेशमा निरुत्साहित गर्ने बताए । ‘सडकमा सुतेर भएपनि भारतिय गाडी रोक्छौ , कानुन र राज्यले गर्नु पर्ने भएपनि निजी क्षेत्रले आन्दोलन मार्फत रोक्नका लागि पहल गर्छ । ’
मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए संस्थाले ट्रक नविकरण तथा दर्ता नगर्ने, दुर्घटना बिमा र सेवा सुविधाबाट बञ्चित हुनुपर्ने लगायतका व्यवस्था रहेको महासंघ लुम्बिनी प्रदेशका संयोजक यम प्रसाद पाण्डेले बताए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति क्षेत्रिय कार्यालय पडसरीमा आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवसायी समितीका पदाधिकारी, यातायात व्यवसायी लगायतको उपस्थिती रहेको थियो । समितिले गत सातामात्रै भन्सार पास भएका ओभरलोड भारतिय गाडी भन्सार विन्दुमै रोकेर विरोध गरेको थियो ।