बुटवल - बुटवल उपमहानगरपालिका १२ मा निर्माण हुँदै गरेको ट्रान्सपोर्ट भिलेज अर्थात ढुवानी ग्राम कार्त्तिक १ गतेदेखि सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिले ढुवानी व्यवसायीहरुको नाममा सूचना जारी गर्दै कार्त्तिकदेखि ढुवानी ग्राम सञ्चालनमा आउने र त्यसअघि सो ठाउँमा स्थानान्तरण भइसक्न भनेको छ।
'२०७८ असोज मसान्त भित्र नगर क्षेत्रमा छरिएर रहेका सम्पूर्ण ढुवानी व्यवसायहरु उल्लेखीत स्थानमा रहेको ट्रान्सपोट भिलेजभित्र स्थानान्तरण भइ आफ्नो व्यवसाय सञ्चालन गर्ने स्थान सुरक्षित गर्नुहुन सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध छ।' उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रेग्मीद्वारा जारी सुचनामा उल्लेख छ ।
२०७६ पुस १ बुटवल उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालिबीच सम्झौता भइ ट्रान्सपोर्ट भिलेज निर्माण सुरु भएको हो । जस अनुसार ४९ वटा व्यवसायिक टहरा परिवहन प्रालिले बनाउने अन्य पूर्वाधार बुटवल उपमहानगरपालिकाले बनाउने समझदारी भएको थियो ।
आयोजनाको काम अन्तिम चरणमा रहेको उपमहानगरपालिकाका इन्जिनियर रुकमागत बस्यालले जानकारी दिए। ‘ढुवानी ग्राममा अहिले २७ वटा व्यवसायिक टहरा तयार भइसकेको छ। निर्माण भइरहेका १३ वटाको काम अन्तिम चरणमा पुगेको छ ।’ उनले भने ‘४० वटा तयार भएपछि व्यवसायहरु यहाँ सुरु हुने छ। ९ वटा टहरा निर्माणको अब निर्माण सुरु हुन्छ।’
बुटवल उपमहानरपालिकाले आफूले बनाउनुपर्ने पहुँच सडक, खानेपानी, बाउण्ड्री वाल तयार भएको छ। यस बाहेक सार्वजनिक सौचालय, विद्युतीकरण, चमेनागृह, गार्डरुम, क्लिनीक, गाडीको सर्भिस सेन्टर र प्रहरी पोष्ट उपमहानगरपालिकाले बनाउनुपर्ने छ। यी पूर्वाधारहरुको काम पनि भइरहेको बस्यालले बताए।
ढवाहाको २ विघाह १४ कठ्ठा जग्गामा २६ करोड २२ लाख लागतमा ढुवानी ग्राम निर्माण भएको हो । अहिले ढुवानी व्यवसायीहरु बुटवलका विभिन्न ठाउँमा छरिएर रहेका छन्। रुपन्देही ढुवानी व्यवसायी संघले वर्षौ अघि देखी ढुवानी ग्राम बनाउन आग्रह गरेको थियो।
रुपन्देहीका खुद्रा प्रकारका ढुवानी व्यवसायीहरुको संस्था ढुवानी व्यवसायी समिति रुपन्देहीले बर्षौ अघिदेखि नै ढुवानी ग्रामको माग गर्दै आएका थिए। व्यवसायीहरुले प्रालिमा कम्पनी दर्ता गरेपछि मात्र ढुवानी ग्राम बनाउन जग्गा पाएका हुन्।
रुपन्देही परिवहन प्रालिका अध्यक्ष तथा ढुवानी व्यवसायी समिति रुपन्देहीका पूर्व अध्यक्ष कमल घिमिरेले आफूहरुले बर्षौ अघि देखि ढुवानी ग्राम बनाउने चाहाना अहिले आएर पुरा भएको बताए। ‘२० वर्ष अघि देखि हामीले अनुरोध गरेका थियौं । उपमहानगरले प्रालिमा गए मात्र जग्गा दिन मिल्छ भनेकाले हामीले प्रालि बनाएर अनुमती पाएका हौ ।’ उनले भने ‘यसले हामी ढुवानी व्यवसायीहरुलाई धेरै सहज भएको छ।’
अहिले यस प्रकारका ढुवानी व्यवसायी रुपन्देहीमा ३६ जना रहेको घिमिरेले बताए। उपमहानगरले अनुरोध गरेअनुसार अब व्यवसायीहरुले ट्रान्सपोर्ट भिलेजमा स्थानान्तरणको तयारी गरेको उनले जानकारी दिए।