बुटवल–बुधबारबाट लकडाउन खुलेसँगै जनजीवन सामान्य हुँदै छ। शिक्षण संस्थामा तत्काल कक्षा सञ्चालन नभएको भएपनि शिक्षक तथा प्राध्यापकहरुलाई हाजिर हुन विश्वविद्यालय तथा क्याम्पसहरुले आह्वान गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालयले आजबाट शिक्षकहरुलाई उपस्थित हुन भन्दै हिजो नै सूचना निकालेको थियो। त्यसलाई रिले गर्दै क्याम्पसहरुले आज सूचना निकालेका छन्।
बुटवल बहुमुखी क्याम्पस, बुटवलले एक सूचना प्रकाशित गरी लकडाउन अन्त्य भएसँगै सार्वजनिक बिदा पनि समाप्त जनाएको छ। क्याम्पसले बुधबारबाटै हाजिर हुन शिक्षक कर्मचारीलाई सूचित गरेको छ।
‘राष्ट्रव्यापी लकडाउनको घोषणा गरेसँगै शिक्षकहरुलाई सार्वजनिक बिदा दिँदै आएकोमा २०७७/४/६ गते मध्यरातदेखि सरकारले लकडाउन समाप्त गर्ने सूचना जारी गरेसँगै सार्वजनिक बिदा समाप्त भएको हुँदा त्रिविमा कार्यरत सम्पूर्ण स्थायी करार शिक्षक तथा कर्मचारीहरुलाई आजको मितिबाट क्याम्पसमा हाजिर भइदिनहुनको लागि यो सूचित गरिन्छ’– बुटवल बहुमुखी क्याम्पसको सूचनामा भनिएको छ।
क्याम्पसले सूचना जारी गरेपछि प्राध्यापकहरु उपस्थित भएर हाजिर गरेका छन्। ‘४ महिनापछि आज क्याम्पसमा उपस्थित भएर हाजिर गरेका छौं’–क्याम्पसका प्राध्यापक बाबुराम पाण्डेले भने ‘नियमित कक्षा हुन त समय लाग्ला, तर अनलाईन कक्षाहरु चलिरहेको छ।’
सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा पनि आज प्राध्यापकहरु उपस्थित भएर हाजिर गरेका छन्। प्रशासन त पहिलेदेखि नै खुलेको हो, शिक्षकहरु आएर आज हाजिर गर्नुभयो’–क्याम्पस प्रमुख विष्णु रानाले भने।
लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलले भोलिदेखि मात्र प्राध्यापकहरुलाई हाजिर गराउने भएको छ। ‘हिजो त्रिविले सूचना निकालेको छ, आज हामीले भनेका छौं, भोलिबाट आउनुहुन्छ।’ क्याम्पस प्रमुख डा. तारानाथ उपाध्यायले भने–‘एक दिन त बाटाको म्याद पनि राख्नु पर्यो नि।’
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण गत चैत्र ११ गतेदेखि नेपालमा लकडाउन थियो। लकडाउनसँगै त्रिविका सम्पूर्ण गतिविधि पनि ठप्प भएका थिए। लकडाउन खुकुलो भएसँगै असार १ गतेबाट क्याम्पसका प्रशासन खुलेपनि शिक्षकहरुलाई बोलाइएको थिएन। मंगलबार रातीबाट लकडाउन खुलेसँगै प्राध्यापक र शिक्षकहरुलाई पनि बोलाइएको हो।