काठमाडौँ – देशभरको मौसम बिहीबार दिनभर सामान्य बदली रही केही स्थानमा पार्नी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर मनसुनी वायुको प्रभाव छ। यस्तै मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।
देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।