रुपन्देह । लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न तहमा अध्ययन गरेका ३२६ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ ।
आज लुम्बिनीमा विशेष समारोहको आयोजना गरी विद्यावारिधी गरेका १२ जना, स्नातक तह अध्ययन गरेका ३७ जना र स्नातकोत्तर तह पूरा गरेका २७७ जना विद्यार्थीलाई दीक्षित गरिएको हो ।
प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा भएको विशेष समारेहमा लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस सहित विभिन्न क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुलाई उपाधि दिइएको विश्वविद्यालयका रजिष्टार तिलकराम आचार्यले जानकारी दिनुभयो ।
शैक्षिक विकासको अनुष्ठानका लागि विश्वविद्यालयमा भर्ना भइ विभिन्न शैक्षिक कार्यक्रमका तोकिएका मापदण्ड पूरा गरेका विद्यार्थीहरुलाई उपाधि दिइएको उहाँको भनाइ छ ।
समारोहका प्रमुख अतिथि नालन्दा विश्वविद्यालयका उपकुलपति सुनैना सिंहले बुद्धले प्रतिपादन गरेको शिक्षा आज विश्वकै लागि अनुकरणीय रहेको बताउनुभयो ।
अहिले नेपाल, भारत लगायत विभिन्न देशमा बुद्धले प्रतिपादन गरेको शिक्षाको अभ्यास हुने गरेको बताउँदै उहाँले विश्वशान्तीका लागि यो आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले समाजिक सद्भाव, शान्ति र आर्थिक उन्नयनका लागि लाग्न आग्रह गर्दै दिक्षित भएकाहरुलाइ शुभकामना दिनुभयो ।
विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले गौतमबुद्धबाट प्रतिपादित शील, समाधि र प्रज्ञामा आधारित शिक्षाको महत्वलाई आत्मसाथ गर्दै शान्ती, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न उच्च शिक्षाको महत्वपूर्ण जिम्मेवारीसहित लुम्बिनी बौद्ध विश्वविद्यालको स्थापना भएको बताउँदै सोही अनुसार शैक्षिक कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभयो ।