रुपन्देही । एकै दिनको झरीले बुटवल जलमग्न बनेको छ । पानीको उचित निकास नहुँदा आज बिहानदेखि परेको झरीले सडक भरिएको छ । पानीका कारण सडक पोखरीजस्तो भएपछि यात्रुलाई आवतजावतमा समस्या भएको छ ।
राजमार्ग चौराहा–गोलपार्कसडक बिस्तारको काम समयमै नहुँदा यात्रुले झनै सास्ती पाएका छन् । नाली निर्माणको काम नसकिँदै खनिएको सडकमा पानी जमेपछि पैदलयात्रु, स्कुटर र मोटरसाइकल चालकलाई झनै समस्या भएको यात्रुले गुनासो गरेका छन् ।
“मोटरसाइकल र स्कुटर चलाएर हिड्न सक्ने अवस्था छैन । गर्मीमा धुलोले अब वर्षामा हिलो र पानीले ज्यान जाने हो की भन्ने डर छ”, यात्रु लक्ष्मण खनालले गुनासो गर्नुभयो ।
बुटवलको मुख्य बजार क्षेत्रहरु गोलपार्क, लक्ष्मीनगर, ट्राफिकचोक, अस्पताललाईन हुँदै नयाँ बसपार्कसम्म सडक हिलाम्य बनेका छन् । कहिले स्थानियको विरोध, मुद्दा मामिला त कहिले ठेकेदार सम्पर्कमा नआउने जस्ता समस्याकै कारण सडक निर्माणको कामले गति लिन सकेको छैन ।