रुपन्देही । विवादका कारण स्थगित हुँदै आएको तिलोत्तमा नगरपालिकाको १२ औं नगरसभा अधिवेशनको पाँचौं बैठक आज बसेको छ ।
सोमबार साँझ भएको छलफलमा नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वरदेवी चौधरीबीच नगरसभा अगाडि बढाउनेबारे सहमतीपछि बैठक बसेको हो । नगरसभा बैठकबाट एमाले जनप्रतिनिधिले उठाएका विषय पनि कार्यसूचीमा राखेर छलफल गर्ने र बजेट पनि पारित गर्ने सहमति भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकाका विषयमा एमालेका जनप्रतिनिधी असन्तुष्ट भएपछि आजको बैठकमा नगरसभा सचिवको भूमिकामा माधवप्रसाद पोखरेल रहनुभएको छ ।
सहमति पछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुलाइएको उपप्रमुख चौधरीले जानकारी दिनुभयो ।
असार २६ गतेदेखि स्थगित हुदै गएको नगरसभा बैठक पटक पटक बस्ने प्रयत्न भएको भएपनि सहमती हुने अवस्था नभएपछि सोमबार पनि सूचना टांसेर स्थगित भएको थियो ।
यसअघि नगरपालिकामा फर्जी माइन्यूट तयार गरी गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरिएको थियो । नगर प्रमुख खाणले फर्जी माइन्यूट तयार गरी गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेपछि विवाद शुरु भएको थियो ।
यसअघि असार २८ गतेको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चारवटा विषयगत समिति नगरसभाले पारित गर्नुपर्ने वैधानिक व्यवस्था भएकाले बजेट पारित गर्ने दिन यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए ।