काठमाडौँ । लामो समयदेखि पत्रकारितामा कार्यरत वरिष्ठ पत्रकारलाई पहिलो पटक वृत्ति वितरण दिन सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वरिष्ठ पत्रकारलाई वृत्ति वितरण दिन सुरु गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पद्मभक्त खरेल (वर्ष ७७), निरोधराज पाण्डे (वर्ष ७३) र चिरञ्जीवी अर्याल (वर्ष ६७) लाई वृत्ति वितरण प्रदान गरियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उहाँहरूलाई प्रदान गरिने रकम प्रदान गर्नुभयो । पत्रकार खरेल, पाण्डे र अर्याललाई क्रमशः दस हजार, सात हजार र पाँच हजार रुपियाँ प्रदान गरियो । यस वर्षको साउनदेखि आजीवन उहाँहरूको खातामा सो रकम पठाइने छ ।
६५ वर्षभन्दा बढी उमेर भएको र कम्तीमा तीस वर्ष पत्रकारिता गरेको व्यक्तिले आवेदन दिन पाउने गरी सूचना तथा प्रशारण विभागले आवेदन माग गरेकोमा एघार जना पत्रकारले आवेदन दिनुभएको थियो । जसमध्ये तीन जनालाई छनोट गरी वृत्ति वितरण दिन सुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।