काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि सरकारले निर्णय गर्ने तयारी गरेको बताउनुभएको छ ।
निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा उहाँले सामान्यतयाः निर्वाचन गर्न आयोगलाई १२० दिन समय चाहिने भएपनि अब घोषणा हुने मितिले सो दिन अपुग हुने उहाँले बताउनुभयो ।
आगामी निर्वाचनबारे आयोगले आन्तरिक तयारी गरिरहेकाले केही समय कम भएपनि आयोग निर्वाचन सम्पन्न गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । यसअघि गत वैशाख ३० गते भएको निर्वाचनमा प्रयोग भएका केही सामग्री आउने निर्वाचनमा पनि प्रयोग हुने भन्नुहुँदै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “आगामी निर्वाचनमा खर्चको अनुपात केही बढ्ने देखिए पनि सकेसम्म मितव्ययी बनाउने प्रयासमा आयोग लाग्छ ।”
“मतदाता बढ्छन्, मतपत्र सङ्ख्या बढ्छ, महङ्गी बढेको छ, कर्मचारीको तलब बृद्धि भएको छ, मतपेटिका सङ्ख्या बढ्छ, यी यावत कारणले आगामी निर्वाचनमा खर्च अनुपात बढ्छ” उहाँले भन्नुभयो, “खर्च मितव्ययी बनाउन आगामी निर्वाचन पनि एकै चरणमा गर्ने सरकारलाई सुझाएका छौं ।”
साउन १५ गतेपछि सरकारले मन्त्रीपरिषदबाट निर्णय गरी निर्वाचनको मिति घोषणा गर्ने पनि प्रमुख आयुक्त थपलियाले बताउनुभयो । आयोगले साउन १५ गतेसम्म मतदाता नामावली सूची दर्ता गर्ने समयको अनुमानित समय निर्धारण गरे पनि निर्वाचन मिति घोषणा भए लगत्तै नामावली सूची दर्ताको काम बन्द हुने उहाँले जानकारी दिनुभयो ।
आगामी निर्वाचनका लगि निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ मेशिन (इभीएम) प्रयोग गर्नेगरी सरकारलाई परामर्श दिएको भए पनि मेशिन प्रयोगको विषय आयोगका लागि ‘आकाशको फल आँखातरि मर’ भएको उहाँले बताउनुभयो ।
आगामी निर्वाचन मङ्सिरमै गराउनेगरी सरकारले आयोगलाई विश्वास दिलाएकाले निर्वाचनको आन्तरिक तयारीमा आयोग लागिसकेको उहाँले बताउनुभयो । आगामी निर्वाचनका लागि खर्च अनुपात बढ्ने निश्चित भएपनि अझै कति खर्च लाग्छ भन्नेबारे हिसाव गरिनसकेको उहाँले बताउनुभयो । सरकारले निर्वाचनको मिति तोकेपछि त्यसबारे निर्णय हुने उहाँले बताउनुभयो ।