काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहित पेश गर्नुभएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको हो ।
यस्तै बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक,२०७९ मा राष्ट्रियसभाले गरेको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक अघिल्लो बैठकमा गणपुरक सङ्ख्या नपुगेका कारण निर्णयार्थ पेश हुन सकेको थिएन ।
यस्तै प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक,२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सवसम्मतिले स्वीकृत गरेको छ ।
यस अघि बैठकको सुरुमा सांसद्हरुले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नभएको, निर्मला हत्या काण्डको छानबिनमा भइरहेको ढिलाइ, मंकीपक्स सङ्क्रमणको जोखिम लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।