रुपन्देही । रुपन्देहीको तिलोत्तमामा सञ्चालित कल सेन्टरका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा दर्ता गरेको छ ।
तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा छापा मार्दा अवैध काम गरेका पाइएपछि सञ्चालक दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ का ४० वर्षीय हिमाल बाठामगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारीका २५ वर्षीय जिसाद दवाङ्गे (निरञ्जन कुमार) लाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
यही साउन ८ गते जानकीनगरस्थित ब्लु स्काई बिजनेस सोलुसन नामक कम्पनीमा विद्युतीय अपराध भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
तीन वटा तल्ला भाडामा लिएर विभिन्न सामाजिक सञ्जाल र एप्सहरु मार्फत विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी प्रलोभन देखाउने, अश्लील सामग्रीहरु पठाई धम्की दिने, बैङ्क लोन अफर गर्ने जस्ता ठगी धन्दा गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
कल सेन्टरमा काम गर्ने ११५ जना पुरुष र ९८ जना महिला कर्मचारी समेत २१३ जनालाई निगरानीमा राखीएको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । कल सेन्टरका कम्प्युटर, मोबाइल लगायत अन्य उपकरणहरू बरामद गरी अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।