काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न कटिबद्ध रहेको बताउनुभएको छ । उहाँले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो । “यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न राससले पनि आफ्ना सेवालाई थप चुस्त बनाउन सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने मेरो कामना छ” उहाँले भन्नुभयो ।
जहाँ लोकतान्त्रिक शासन प्रणाली छ, त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव हुने बताउँदै उहाँले यो वास्तविकतालाई ध्यानमा राखी लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिनुपर्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारी रूपमा अघि बढ्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । “राससले समयानुकूल आफ्ना समाचार सेवाहरूमा विकास गर्दै लैजानु आवश्यक छ र यसका लागि प्रविधि र आफ्नो क्षमताको विकास र विस्तारमा पनि ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो ।
स्वदेशी र विदेशी सञ्चारमाध्यमहरुलाई समेत समाचार सेवा प्रदान गर्दै आएको छ दशकभन्दा पुरानो समाचार संस्था राससले आगामी दिनमा राज्यको एक आधिकारिक सूचना बैङ्कको रुपमा रहेर काम गर्न र नागरिकको सूचनाको अधिकारको सम्मान गर्दै अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।
राज्यको चौथो अङ्ग पत्रकारिता क्षेत्रको व्यवस्थित विकासका लागि विश्वासिलो, सत्य र तथ्यपूर्ण सूचना तथा समाचारको आवश्यकता पर्ने उल्लेख गर्दै राससले यो आवश्यकता धेरै हदसम्म पूरा गर्दै आएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहरी विकास मन्त्री मेटमणि चौधरी, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, उच्च पदाधिकारीलगायतको उपस्थिति थियो । विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् । चार तले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।