रुपन्देही । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० का लागि करका दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार बैठकी कर लगायतमा हेरफेर गरि चालु आर्थिक बर्षका लागि साउन १ गतेदेखि लागू भएका छन् ।
उपमहानगरपालिकाले यस अघि लागु गरेको सम्पत्ति र घरबहाल कर १०मा प्रतिशतले घटाएको छ । सम्पत्ति कर सम्पत्तिको मूल्य अनुसार रु. १ सय देखि रु. ४९ हजार ५ सय सम्म कायम गरिएको छ । यस्तै रु. ५ लाख सम्म करयोग्य सम्पत्ति भएमा रु १ सय र रु. ५ करोडदेखि माथि भएमा प्रतिहजारको रु. २ का दरले सम्पत्ति कर तिनुपर्ने छ ।
यस्तै, इरिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत रु. ५ सयका दरले रु. १ हजार तिर्दै आएकोमा चालु आर्थिक वर्षमा रु. ३ सयका दरले रु. ६ सय बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दामोदर ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै, महिला, अल्पसंख्यक र अपांगता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ ।
यस्तै, सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्ग मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने ब्यवस्था मिलाइएको उपमहानगरपालिकाले जानाएको छ ।
यस्तैगरी, नागरिकता, अपांगता, जेष्ठ नागरिक परिचय पत्रसहित १३ प्रकारका सिफारिश दस्तुर निः शुल्क गरिने ब्यवस्था मिलाइएको ज्ञवालीले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा रु. ६० करोड राजस्व संकलनको लक्ष्य लिएको छ ।
नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
उहाँले राजस्व परामर्श समितिको सिफारिश अनुसार चालु आर्थिक वर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको बताउनुभयो । यसअघि रु. ७१ करोड २५ लाख राजस्व संकलनको लक्ष्य लिइएकोमा रु. ५३ करोड संकलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।