रुपन्देही । लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले संसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज गरेको कोषका सदस्य सचिव सनुराजा शाक्यले जानकारी दिनुभयो ।
संसारा वेलनेसले लुम्बिनीग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो ।
सोही प्रस्ताव प्रेमकुमार आले संस्कृति मन्त्री रहेका बेला स्वीकृत गरिएको थियो । तर, लुम्बिनी विकास गुरूयोजनाविपरीत रहेकाले गत जेठ १९ मा बसेको कार्यकारिणी समितिको बैठकले गरेको निर्णय परिषद बैठकले खारेज गरिदिएको सदस्य सचिव शाक्यले बताउनुभयो ।
परिषद बैठकले गौतमबुद्धले २९ वर्ष विताएको कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा मनोनयनका लागि रणनीतिक मनोनयन दस्तावेज तयार गर्नका लागि अन्तरराष्ट्रिय विज्ञ अष्ट्रेलियाका डङकन मार्शलललाई छनौट गर्ने निर्णय गरेको छ ।
परिषद बैठकले लुम्बिनी विकास कोषको आयोजनामा नोभेम्बर २०२२ मा लुम्विनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय समेत गरेको छ । यसैगरी लुम्बिनी र पाल्पाको तानसेनलाई बुद्ध सर्किटमा जोडेर लैजाने निर्णय पनि परिषद बैठकले गरेको सदस्य सचिव शाक्यले बताउनुभयो ।
सदस्य सचिव शाक्यका अनुसार परिषद् बैठकले दुई महिनाभित्रै लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ । बस सञ्चालन गर्नका लागि गठन गरिएको कार्यदललाई यथासिघ्र प्रतिवेदन पेश गरी गर्न भनिएको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष श्रेष्ठले लुम्बिनी र तिलौराकोटका पर्यटकीय सम्पदा र पुरातात्विक क्षेत्रको विकासका लागि पुरातत्व विकाससँग समन्वय गरी मन्त्रालयस्तरबाटै काम अघि बढाउने प्रतिवद्धता जनाउनुभएको थियो ।
परिषदको बैठकमा सदस्य सचिव शाक्यले प्रस्तुत गर्नुभएको कोषको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम र कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्तुत गर्नु भएको आ.व. २०७९÷८० को बजेट पारित गरिएको छ ।