काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व भएको बताउनुभएको छ।
नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो।
उहाँले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षणका लागि सरकार गम्भीर रहेको समेत उल्लेख गर्नुभयो। उहाँले नेपालमा विभिन्न जातजाति, भाषा, धर्मका मानिस बसे तापनि सामाजिक सद्भाव र सहिष्णुता राम्रो रहेको भन्दै यस प्रकारको सहिष्णुतालाई दीर्घकालसम्म अक्षुण्ण राख्नुपर्ने बताउनु भयो।
प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको हक र हितको संरक्षण तथा सम्बर्धनका लागि आफू सधै प्रतिबद्ध रहेको बताउनु भयो। उनीहरुलाई राज्यको मूलधारमा ल्याएर कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ।