बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको आंशिक असर राजधानी सहित देशभर परेको छ ।
काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको छ । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ताको एक समूहमा एक्कासि आएर कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको महासागर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो । गाडीमा ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ ।
त्यस्तै, कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका डीआईजी मोहन आचार्यका अनुसार जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलस्थित ६ लेन सडकखण्ड र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको हो ।
कपडामा बेरेको अवस्थामा राखिएको शंकास्पद बस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ । हाल डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको बताइएको छ ।
यता दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।
चारपाँच जनाको समूहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।
घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।
चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।
तीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।