रुपन्देही । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवल अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटनसँगै बुटवलबासीको एउटा सपना पूरा भएको बताउनुभएको छ ।
बुटवल अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उहाँले लामो समयको धैर्यतापछि सम्मेलन केन्द्रको उद्घाटन भएको जनाउँदै जिल्लाबासीका लागि यो खुशीको कुरा भएको बताउनुभयो । “यो रुपन्देहीको गहना हो । यहाँ नियमित कार्यक्रम गर्ने, राष्ट्रिय र अन्तरराष्ट्रिय सम्मेलनको माध्यमबाट यसको भरपूर सदुपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
जिल्लाका अन्य महत्वपूर्ण योजनाहरु समेत सम्पन्न भइ उद्घाटनको चरणमा प्रवेश गरेको जनाउँदै उहाँले केही समयमै बुटवल प्रदर्शनी केन्द्रको समेत उद्घाटन हुने बताउनुभयो । “यो सम्मेलन केन्द्रको उद्घाटन रुपन्देहीका जनप्रतिनिधी विकासको गफ गर्न होइन विकासको काम गर्न प्रतिवद्ध छन् भन्ने कुराको प्रमाण हो । अब यसको अप्रेशन मोडालिटी छिटो तयार हुनुपर्छ”, उहाँले भन्नुभयो ।
नेकपा एमालेका उपाध्यक्ष तथा यस क्षेत्रका सांसद रहनुभएका पौडेलले यो सम्मेलन केन्द्रमा अन्तरर्राष्ट्रिय सम्मेलन तथा विभिन्न अन्तरर्राष्ट्रिय स्तरका कार्यक्म आयोजना गर्नेबारे सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
विकासमा नयाँ मानक स्थापना गर्न रुपन्देही सफल भएको जनाउँदै उहाँले यहाँ निर्माण भएको ६ लेन सडक, अन्तरर्राष्ट्रिय विमानस्थल लगायत महत्वपूर्ण आयोजनाले यो ठाउँलाई अझै माथि लैजाने विश्वास व्यक्त गर्नुभयो ।
“भौतिक पूर्वाधार मात्र नभइ शिक्षा, स्वास्थ्य र मानवीय विकासका दृष्टिकोणले देशको नमुना जिल्ला बन्दै गएको छ । यसमा गर्बबोध गर्न चाहान्छु । एक समय थियो बुटवलदेखि सुनौली पुग्न एक घण्टा लाग्थ्यो । अहिले चारलेन सडक निर्माणपछि दूरी छोटिएको छ ।”, उहाँले भन्नुभयो । रुपन्देही विकास हेर्न र सिक्न आउने थलोका रुपमा विकसीत हुँदै गएको उहाँको भनाइ छ ।
उहाँले २०५१ सालदेखि शुरु गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको पहिलो चरणको काम सम्पन्न भइ उद्घाटन भएपनि दोस्रो चरणको काम अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
पूर्वमन्त्री पौडेलले लामो समयसम्म पनि लुम्बिनी गुरुयोजनाको पूर्ण कार्यान्वयन हुन नसकेको जनाउँदै यो योजना पूरा गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रले लाभ लिने दृष्टिकोणले यो आयोजना निकै महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
आफ्नो पहल र अगुवाईमा निर्माण भएको ड्रिम प्रोजेक्टको उद्घाटन समारोहमा सहभागी हुन नेता पौडेल पार्टीको केन्द्रिय कमिटी वैठकलाई छाडेर प्रधानमन्त्री देउवासंगै बुटवल आउनुभएको हो ।