बुटवल । सबैको बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा ५, रुपन्देहीको चार बर्से रणनीतिक व्यावसायिक योजना कार्यशाला सम्पन्न भएको छ। गत बर्ष ११ वटा सहकारी संस्थाहरु एकीकृत भई सञ्चालनमा आएको सहकारी संस्थाले पहिलो रणनीतिक योजना तर्जुमा गरेको हो ।
हाल १ अर्व कुल पुँजी भएको सहकारी संस्थाले आगामी ४ बर्षमा कुल ३ अर्ब पुँजी र १२ हजार सदस्य बनाउने लक्ष सहितको रणनीति तय गरेको छ ।
संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, सेवाकेन्द्र व्यवस्थापन उपसमिति तथा विभिन्न उपसमिति सदस्यहरु सहभागी कार्यशाला भाद्र १० र ११ गते सञ्चालन भएको थियो ।
सहकारी संस्थाको दिगो विकास र विस्तार एवं पूर्ण रुपले सदस्य केन्द्रित सहकारी र सदस्य मैत्री कारोवार एवं ब्यवहारका लागि यो रणनैतिक योजना महत्वपूर्ण हुने सहकारी सदस्य प्रा.डा. गणेश पाठकले जानकारी दिनु भयो ।
हाल सहकारीमा ५८७० जना सदस्य रहेको सबैको सहकारी बचत तथा ऋण सहकारी संस्थाले निकट भविष्यमै स्तरिकरण कार्यक्रममा सहभागि हुने समेत योजनामा उल्लेख गरेको छ । सदस्यको सन्तुष्टि र आन्तरिक सुशासनमा मात्र सहकारीको विकास संभव भएको कुरा सल्लाहकार प्रा.डा. रामचन्द्र आचार्यले बताउनु भयो ।
रणनैतिक योजना तयारी कार्यशालाको सहजीकरण नेफ्स्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत श्री शिवजी सापकोटाले गर्नुभएको थियो । संस्थाका अध्यक्ष भरत भूसालको अध्यक्षतामा सञ्चालित कार्यशालामा ५० जना सहभागी थिए ।