रुपन्देही । बुटवल उपमहानगरपालिकाले एक सय कार्यदिनका उपलब्धी सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो ।
आज एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले एक सय दिनका उपलब्धी सार्वजनिक गर्दै बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको मार्गमा अघि बढाउने बताउनुभयो । उहाँले बुटवल हामी सबैको र हामी सबै बुटवलको भन्ने भावनासहित बुटवलको सम्मुनत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहने प्रतिवद्धता जनाउनुभयो ।
प्रमुख पाण्डेयले एक सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताउनुभयो ।
यस्तै बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरुका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रुपमा योजनाहरु कार्यान्वयनमा जाने बताउनुभयो । उहाँले नागरिकका अपेक्षा अनुसार व्यववस्थित बुटवल बजारको काम हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा यसलाई ध्यानमा राखेर अघि बढ्ने उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध र सफल बनाउने योजना सफल पार्नका लागि कर्मचारी संयन्त्र प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा नगरका पूर्व उपप्रमुख रामेश्वर श्रेष्ठ, शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनाल, नेपाली कांग्रेसका ज्योति भण्डारी, नेकपा एकीकृत समाजवादीका ऋषिराम बस्याल, माओवादी केन्द्रका महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज शर्मा पौडेल, नेकपाका विरेन्द्र बिक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, बुटवल अटो इन्जिनियरिङ एशोसिएशनका तुल्सीराम न्यौपानेलगायतले जनअपेक्षा अनुसार काम गर्न सुझाव दिनुभयो ।
यसैबिच स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा नगर प्रमुख पाण्डेयले सम्पर्क कक्षको उद्घाटन गर्नुभयो ।
बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुका सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताउनुभयो ।