रुपन्देही । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबैका घरमा चाहिएजति विद्युत उपलब्ध गराउने सरकारले तयारी गरिरहेको बताउनुभएको छ ।
उहाँले अहिले करिव ९५ प्रतिशत जनताका घरमा विद्युत पुगेको भन्दै दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत उपलव्ध गराउने बताउनुभयो ।
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाईनको रुपन्देहीको मैनहियामा आज उद्घाटन गर्दै उर्जामन्त्री भुसालले अब सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । “यातायात, सिंचाईलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्नु जरुरी छ, विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउने छ, त्यसैले म सवारी किन्न चाहनेहरुलाई विद्युतीय साधन किन्नका लागि अनुरोध गर्दछु”–उहाँले भन्नुभयो ।
सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बंगलादेशमा बिक्री गरिने पनि मन्त्री भुसालको भनाइ छ । “अहिले भारतमा दैनिक ४०० मेगावाट विद्युत बिक्री भैरहेको छ, बंगलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको छ”– उहाँले भन्नुभयो ।
उर्जामन्त्री भुसालले विद्युतको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताइन् । सिंचाईका लागि प्रयोग हुने विद्युत महशुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने बताउनुभयो ।
बुटवल–लुम्बिनी प्रसारण लाइनबाट अव यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने मन्त्री भुसालको भनाइ छ । अन्य आयोजनाहरु समयमै पूरा नहुने परिपाटीका बीच यो आयोजना समयमै सम्पन्न भएको भन्दै मन्त्री भुसालले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको भन्दै अव यो क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने उल्लेख गर्नुभयो । प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाईन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको विजुली भारतमा बिक्री गर्न सकिने उहाँको भनाइ छ ।
अहिले मुलुकले विद्युत व्यापारबाट मासिक दुई अर्व भारतीय रुपियाँ आम्दानी गरिरहेको भन्दै घिसिङले नेपालको विद्युत दक्षिण एशियामै सस्तो रहेको दाबी गर्नुभयो ।
कार्यक्रमका अवसरका १३२÷३३÷११ केभीएको मैनहिया सब स्टेशनको पनि उर्जामन्त्री भुसालले उद्घाटन गर्नुभएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो ।
प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३÷११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहेका छन् ।
आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले अव भैरहवा क्षेत्रको विद्युत समस्या हटेको बताउनुभयो । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने र त्यसमध्ये चार वटा फिडरको लाइन तानिएको बताउनुभयो ।