रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष प्रदेश लोकसेवा आयोगका प्रमुख डिलाराम भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित एक कार्यक्रमका बिच लोकसेवा आयोगका प्रमुख भट्टराईले २०७८ श्रावणदेखि ०७९ असारसम्म आयोगले सम्पादन गरेका काम कारबाही सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
आयोगका प्रमुख भट्टराईले आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवामा कर्मचारी पदपूर्तिका लागि ४४ वटा काठ्यक्रम निर्माण गरिएको बताउनुभयो । उहाँले प्रदेश निजामती सेवातर्फ वन रक्षक पदको परीक्षा सञ्चालन गरी एक सय ६ जना छनौट गरी सिफारिस गरिएको, सहायक पाँचौ तहमा ६ जना, सहायक चौँथो तहमा ११ जना छनौट गरी सिफरिस गरिएको जानकारी गराउनुभयो ।
प्रदेश निजामती सेवा ऐन नबन्दा प्रदेश तहका कर्मचारीको नियुक्ति, सरुवा, बढुवा र अन्य वृत्ति विकासका काम हुन नपाएकाले उक्त ऐन निर्माण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले कानुन नबन्दा प्रदेश लोक सेवा आयोगले सक्रियता देखाउन नसकेको गुनासो गर्नुभयो । “आयोग गठन भएको ३ वर्ष पूरा हुँदा पनि काम गर्न नसक्ने अवस्था हुनु दुखःद पक्ष हो । कानुन र व्यवस्थापकीय रुपमा जति प्रदेश बलियो हुन्छ त्यति नै संघीयता बलियो हुन्छ”, उहाँले भन्नुभयो ।
संबैैधानिक व्यवस्था अनुसार आयोगले कर्मचारी भर्ना गर्न पाउनुपर्ने बताउँदै उहाँले कर्मचारीको अभावमा जनताले सेवा लिन समस्या हुने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्नुभयो । संघीयतालाई बलियो बनाउन संघले प्रदेशलाई पूरा अधिकार दिनुपर्ने उहाँको भनाइ छ ।