रुपन्देही । लुम्बिनीका दश स्थानीय तहमा सञ्चालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत कृषि तथा पशु उद्यमशिलता परियोजना प्रभावकारी देखिएको छ ।
स्थानीय तहसँगको सहकार्यमा अन्तरराष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनल नेपालले सञ्चालन गरेको सो परियोजना सफल भएको स्थानीय तहका जनप्रतिनिधीको भनाइ छ ।
स्थानीय सरकार र हेफर नेपाल बीच परियोजना सम्झौता समारोहमा बोल्दै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले आर्थिक समृद्धि र महिला सशक्तीकरणका लागि कृषि तथा पशु उद्यमशिलता परियोजना फलदायी रहेको बताए ।
आज बुटवलमा आयोजित स्थानीय सरकार र हेफर नेपाल बीच परियोजना सम्झौता समारोहमा बोल्दै जनप्रतिनिधीहरुले कृषि, पशुपालन तथा आर्थिक सशक्तीकरणका लागि हेफरको कार्यक्रमले ठूलो मद्धत पुगेको जनाए ।
कृषि तथा पशु उद्यमशिलता परियोजना सम्झौता समारोहमा कृषि तथा पशु उद्यमशिलता परियोजना सम्झौतामा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ र हेफर नेपालका कार्यक्रम निर्देशक डाक्टर तिर्थराज रेग्मीले हस्ताक्षर गर्नुभएको हो ।
हस्ताक्षरपछि नगरपालिकाका प्रमुख श्रेष्ठले महिला तथा युवाको आर्थिक शसक्तीकरणका लागि हेफर नेपालले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।
उहाँले कृषि उत्पादन तथा बजारीकरणमार्फत महिलाको आर्थिक शसक्तीकरणका लागि तानसेन नगरपालिकाले आर्थिक वर्ष ७९।८० का लागि रु एक करोड ५० लाख र अघिल्लो वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको जानकारी गराउनुभयो ।
पाल्पाको रामपुर नगरपालिका प्रमुख रमण पाठकले स्थानीय सरकारसँग साधन र स्रोतको पर्याप्त आधार नभएकाले हेफर सँगको सहकार्य फाइदाजनक भएको बताउनुभयो । रामपुरमा कृषि संकलन केन्द्रको आवश्यकता रहेको बताउँदै बेसार र अदुवाको प्रशोधन गर्न आबश्यक रहेको उल्लेख गर्नुभयो ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले हेफरसँगको सहकार्यले कृषि पशुपालनमा पालिकाले प्रगति गरेको बताउनुभयो ।
कार्यक्रम तिनाउको ग्रामिण क्षेत्रमा केन्द्रित गरिएको जनाउँदै उहाँले तेजपातलाई प्रशोधन गरी बजारीकरण गर्ने, उपहार कार्यक्रम सञ्चालन गर्ने र दुधमा आत्मनिर्भर बन्ने योजना रहेको बताउनुभयो ।
रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण बहादुर कार्कीले कृषि र पशुपालनमा १८ सय परिवारसँग जोडिएको बताउनुभयो । कृषि तथा पशुपालनमा बजारीकरणका लागी समस्या नरहेको जनाउँदै खुर्सानी बिक्रीका लागी संकलन केन्द्र रहेको बताउनुभयो ।
पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले हेफरले गरेको आधारशिला कार्यक्रमलाई आर्थिक बिकासको रुपमा अगाडी बढाएको जानकारी गराउनुभयो । दिगो बिकासको लक्ष्यलाई पछ्याउँदै हिँडेको हेफरले कोभिडको बेलामा पनि सहयोग गरेकामा धन्यबाद दिनुभयो ।
निस्दी गाउँपालिका पाल्पा उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले हेफरकै कारण क्षमता विकास गरी उपप्रमुखमा विजयी भएको बताउनुभयो । बस्ती बस्तीमा गएर महिलाहरुको क्षमता बिकास र सशक्तीकरणमा हेफरको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।
हेफर इन्टरनेशनल नेपालका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले स्थानीय तहसँगको साझेदारीले कृषि पशुपालन र आर्थिक सशक्तीकरण कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।
हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले कृषि, पशुपालनमार्फत आर्थिक विकास, समुन्नत जिविकोपार्जनमा संस्थाले उल्लेखनीय काम गरेको उल्लेख गर्नुभयो । हेफरले महिला सहकारीहरूलाई कृषि उत्पादन र बजार पहुँचलाई बलियो बनाउन समेत सहयोग गरेको उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशमा १० स्थानीय तहले आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत अन्तरराष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनल नेपालसँग सहकार्य गरेका छन् । पाल्पाका सात, गुल्मीका दुई, र अर्घाखाँचीको एक पालिकामा कृषि तथा पशु उद्यमशिलता परियोजना सञ्चालनमा रहेको हेफरका बरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिनुभयो ।
हेफरको पाँच स्थानीय तहमा परियोजना सकिएको छ भने थप नौ स्थानीय तहमा परियोजना सम्झौताको तयारी भइरहेको हेफरका बरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेले बताउनुभयो ।
हेफर इन्टरनेशनल नेपालले कृषि तथा पशुउद्यमशिलता परियोजना अन्तर्गत उत्कृष्ट सहकारीलाई बिहीबार लुम्बिनीमा आयोजित विशेष समारोहमा पुरस्कृत गर्ने कार्यक्रम छ ।