बुटवल । विज्ञहरुले रुपन्देही,नवलपरासी र कपिलवस्तु जिल्लालाई जोडेर ‘पश्चिम क्षेत्र आर्थिक करिडोर’ बनाउन सकिने निश्कर्ष निकालेपछि शहरी विकास मन्त्रालयले यस क्षेत्रमा ‘बृहत लुम्विनी मेघा सिटी’ को गुरुयोजना बनाउने प्रकृया अगाडी बढाएको छ ।
एसियाली विकास बैंकको सहयोगमा नेपालका ५ वटा क्षेत्रमा आर्थिक केन्द्र बनाउने सम्भावना सहित शहरी विकास मन्त्रालयले २ अर्षअघि देखि अध्ययन थालेको थियो । अध्ययन भएका ५ वटा क्षेत्र मध्ये तत्कालका लागि पूर्वमा विराटनगर–धरान–इनरुवा–दमक सम्मको क्षेत्रलाई समेटेर ‘औद्योगिक आर्थिक करिडोर’ र पश्चिममा बर्दघाट देखि शिवराजसम्मको क्षेत्रलाई समेटेर ‘बृहत लुम्बिनी पर्यटन केन्द्र’को रुपमा विकास गर्न सकिने निश्कर्ष निकालिएको छ ।
आर्थिक केन्द्रको अध्ययनका लागि त्यस क्षेत्रको जनसंख्या,आर्थिक गतिविधि,शहरहरुको विकास,पूर्वाधार निर्माणका लागि खाली जमिन,कृषियोग्य जमिन,दूरी,माटो,भुगोल तथा वातावरणलाई आधार बनाइएको शहरी विकास मन्त्रालय अन्तर्गत क्षेत्रीय शहरी विकास आयोजनाका निर्देशक रोशन श्रेष्ठले बताउनुभयो ।
आर्थिक करिडोरको अध्ययन संगै ती क्षेत्रहरुको गुरुयोजना निर्माणको प्रकृया समेत अगाडी बढाइएको थियो । बुटवललाई केन्द्रमा राखेर पूर्व बर्दघाट देखि पश्चिम शिवपुरसम्मको क्षेत्रलाई समेटेर ‘बृहत लुम्विनी मेघासिटी’ बनाउन सकिने निश्कर्ष सहित गुरुयोजनाको प्रारम्भीक खाका तयार भइसकेको र अब डिपिआर निर्माणका लागि परामर्शदाता समेत छनोट गरिएको शहरी विकास मन्त्रालयका सहसचिव पदम मैनालीले जानकारी दिनुभयो ।
उहांका अनुसार ‘बृहत लुम्विनी मेघासिटी’को गुरुयोजना अन्तर्गत ४० भन्दा बढी परियोजनाहरु छनोट भएका छन् । ति मध्ये तत्काल १२ वटा परियोजनाको डिपिआर बनाउने तयारी छ । खासगरी सडक,शहर,पुल लगायतका पूर्वाधारहरु छनोट गरिएका छन् । रेलमार्ग,विमानस्थल जस्ता ठूला पूर्वाधारका लागि गुरुयोजना बनाएपनि डिपिआरको काम शहरी विकास मन्त्रालयले गर्ने छैन ।
शहरी विकास आयोजनाका निर्देशक रोशन श्रेष्ठले डिपिआर सकिने बेलासम्म गुरुयोजना कार्यान्वयनका लागि एडिविसंग नयां सम्झौता हुने र काम अगाडी बढाउने तयारी गरिएको बताउनुभयो ।
तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले एडिबिसंगको सहयोगमा ‘बृहत लुम्विनी मेघा सिटी’ को सम्भाब्यता अध्ययन र गुरुयोजना निर्माणका लागि शहरी विकास मन्त्रालय मार्फत काम अघि बढाउनुभएको थियो ।
हालसम्म यस क्षेत्रमा बनेका पूर्वाधारहरुलाई आधार बनाएर बृहत लुम्विनी क्षेत्रको गुरुयोजना निर्माण गर्ने पौडेलकोे चाहनालाई प्राविधिकहरुले केहीवर्ष भित्रै मूर्त रुप दिने तयारी गरेका छन् । ‘अहिले सम्मका आयोजना जनताको आवश्यकता र मागका आधारमा निर्माण भएका हुन्, अव राष्ट्रिय अन्तरराष्ट्रिय विज्ञहरुले पर्यावरण र भुगोलको समेत विस्तृत अध्ययन गरेर गुरुयोजना बनाउने छन्’–पूर्व अर्थमन्त्री पौडेलले भन्नुभयो । अब गुरुयोजनाले निर्दिष्ट गरेका आयोजनाहरु प्राथमिकताका आधारमा छनोट गरेर निर्माण गर्ने लक्ष्य रहेको उहांको भनाई छ ।
गुरुयोजना निर्माण गर्दा यस क्षेत्रको सांस्कृतिक ,पुरातात्विक र ऐतिहासिक महत्व,लुम्विनी र बौद्ध संस्कारलाई विशेष ध्यान दिइनेछ । पौडेलले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही २ को चुनावी घोषणा पत्रको पहिलो नम्वरमै यो विषय उल्लेख गर्नुभएको छ । घोषणा पत्रमा लुम्विनीलाई केन्द्रमा राखेर निर्माण भएको लुम्विनी शान्ति शहरको गुरुयोजना कार्यान्वयनमा लैजाने समेत उल्लेख गरिएको छ । उक्त गुरुयोजना कोरिएन प्रोफेसर क्वाकले निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई बुझाइसक्नुभएको छ ।
क्वाकको गुरुयोजना नै ‘बृहत लुम्विनी मेघा सिटी’ को गुरुयोजनाको आधार स्तम्भ हुने बृहत्तर लुम्विनी क्षेत्रको गुरुयोजना निर्माणको मार्गदर्शन गरिरहेका ईन्जिनियर शुशिल ज्ञवालीको भनाई छ । इन्जिनियर ज्ञवाली पुनर्निर्माण प्राधिकरणका पूर्व सिइओ हुनुहुन्छ । उहाकै नेतृत्वमा प्राधिकरण मार्फत लाखौं घर,अस्पताल,सार्वजनिक भवन र सम्पदाहरुको समयमै पुनर्निर्माण सम्पन्न भएको थियो ।
योे गुरुयोजनाको डिपिआर सहितको खाका पुरा गर्न केही वर्ष लागेपनि गुरुयोजना भित्रका परियोजनाहरुको डिपीआर गर्दै जाने र तयार भएका योजनाहरुको निर्माण प्रकृया पनि अगाडी बढाउंदै जाने योजना रहेको इन्जिनियर ज्ञवालीले बताउनुभयो ।
गुरुयोजना भित्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको विस्तार गर्ने, विमानस्थल जोड्ने सडक सञ्जाल बनाउने, लुम्विनी शान्ति शहरको गुरुयोजना कार्यान्वयनमा लैजाने,तिलोैराकोटको उत्खनन गरेर ३ हजार बर्ष पुरानो शैलीको शहर शहर बनाउने,रामग्राम र सैनामैनामा पुरातात्विक तथा सांस्कृतिक शहर निर्माण गर्ने, बृहत लुम्विनी क्षेत्र शान्ति क्षेत्र समेत भएकाले प्रदूषणरहित विद्युतीय सवारी र विद्युतीय रेल सञ्चालन गर्ने, सांस्कृतिक –पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्ने,तिनाउ कञ्चन रोहिणी,दानव नदीहरुमा तटबन्ध,कोरिडोर सडक र हरियाली पार्क बनाउने योजना उल्लेख छन् ।
गुरुयोजनाले कृषि क्षेत्र,आवास क्षेत्र,औद्योगिक क्षेत्र,बन क्षेत्र, उद्यान क्षेत्र तथा सिमसार,ताल र पोखरीहरुको क्षेत्र बर्गाीकरण गरी भूउपयोग तथा पूर्वाधार विकासका योजना कार्यान्वयन गर्ने भनिएको छ ।
गुरुयोजनाको खाकाले अन्तिम रुप पाएपछि पहिलो चरणमा बुटवल,तिलोत्तमा र सैनामैनामा जग्गा एकीकरण(ल्यान्ड्पुलिङ्ग) अवधारणा अनुरुप नयां शहरहरुको विकास गर्ने भनिएको छ ।
पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक विस्तार,बुटवल–चन्द्रौटा सडक,बुटवल–पोखरा सडकमा आवश्यक सुरुङ्मार्ग तथा अग्ला पुलहरु (भायडक्ट) सहित स्तरउन्नती गर्ने,तिनाउमा आकर्षक सिग्नेचर व्रिज बनाउने,पुरानो बटौली बजारलाई ऐतिहासिक शहरमा पुनरोत्थान गर्ने योजना समेत गुरुयोजनामा छ ।
त्यसबाहेकका आयोजना गुरुयोजनाको डिपिआर बनाउने प्राविधिकहरुले छनोट गर्नेछन् । प्राविधिकहरुले सांस्कृतिक शहर,बहुतले विल्डिड्. सहितका शहर,आवास क्षेत्र,किनमेल क्षेत्र,औद्योगिक क्षेत्र,पर्यापर्यटन क्षेत्र,कृषि क्षेत्र छुट्याएर डिपिआर बनाउनेछन् । पछि बृहत लुम्विनी विकास क्षेत्र लाई कुनै प्राधिकरण वा अन्य सरकारी संरचना मार्फत विकास गर्ने योजना समेत नेता विष्णु पौडेलको छ । गुरुयोजनाले मसिनोे गरी बनाएको डिपिआर अनुसार साना ठूला आयोजनाहरु तीन तहका सरकारहरुले कार्यान्वयन गर्दै जाने र २० वर्षभित्र बृहत लुम्विनी क्षेत्र मुलुककै विशेष आर्थिक केन्द्रको रुपमा तयार हुने अपेक्षा गरिएको छ ।