बुटवल । बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीब्रता दिन बुटवल उपमहानगरपालिकाले आयोजना कार्यालयको ध्यानाकर्षण गराएको छ ।
बुधबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम) का प्रमुख प्रदीपराज शाक्य, परामर्शदाताहरु शुभम सैजु र सुरेश विष्टसँग छलफल गर्दै सडक विस्तारको काम बुटवलबाट शुरु गर्न आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र पूर्वाधार विकास शाखाका प्रमुख गौतम रौनियार र आयोजना पक्षको उपस्थितिमा बुटवल उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलमा प्रमुख पाण्डेयले सडक विस्तारको काम समयमा नहुँदा दुर्घटना बढेको, धुलोका कारण आसपासको बस्ती र व्यवसाय प्रभावित भएको, शहर कुरुप भएकोलगायतका विषयलाई पनि चासो दिन ध्यानाकर्षण गराउनुभयो ।
छलफलका क्रममा आयोजना प्रमुख प्रदीपराज शाक्यले सडक विस्तारको कामलाई तीब्रता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले निर्वाचनलगत्तै सडक विस्तारलाई अघि बढाउने गरी तयारी भएको बताउनुभयो । रामनगरस्थित पशु बधशाला जाने सडक निर्माणका लागि डिजाइनमै राखेर काम अघि बढाउने उहाँले बताउनुभयो ।
बुटवल–नारायणगढ सडक निर्माण भएको ५७ वर्षपछि फराकिलो गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो । अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ ।
२०७५ चैत ८ गते बुटवलबाट शिलान्याश भएको सडक कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको आयोजना प्रमुख शाक्यले बताउनुभयो । गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको छ ।