काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोग कडा नभइ दलका नेता तथा कार्यकर्ता अनुशासित भएको बताउनुभएको छ ।
आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोक) द्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले मतदानका दिन कोही पैसा, प्रलोभन, पहुँच र धम्कीको प्रभावमा नपर्न उहाँले आग्रह गर्नुभयो ।
निर्वाचन कानुन र आचारसंहिताको परिपालना गरेमा निर्वाचन अनुशासित, भयरहित, स्वतन्त्र र स्वच्छ हुने उहाँको भनाइ छ । “कतिपयले निर्वाचन आयोग कडा रुपमा प्रस्तुत भएकाले आचारसंहिता कार्यान्वयन भएको भने पनि आयोग त्यस्तो कडा भएको होइन, आचारसंहिता कार्यान्वयनमा ध्यान दिएको हो” उहाँले भन्नुभयो ।
कतिपय ठाउँमा महिला, असहाय, अपाङ्गता भएका मतदाताको अधिकार खोसी ठेकेदार तथा विचौलियाले मतदान गर्नेगरेको सूचना प्राप्त भएकाले त्यस्को सुक्ष्म निगरानी गरिने र पर्यवेक्षण संस्थाले पनि त्यसमा गहन ढङ्गले काम गर्नुपर्ने उहाँको आग्रह छ । “मतदाताको अधिकार दिलाउने विषय आयोगका लागि अहिले प्रमुख चुनौतीको विषय हो, त्यसमा आयोग सचेत भएर निगरानी गर्छ” उहाँले भन्नुभयो ।
अर्को महत्वपूर्ण विषय मतदानका दिन मतदाताको सुरक्षाको विषय भएको उहाँले चर्चा गर्नुभयो । ढुक्क भएर मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनु उहाँहरु सबैको नैसर्गिक अधिकार भएको उहाँले बताउनुभयो ।
निर्वाचन पर्यवेक्षण संस्थाले आफूले देखेका घटना तत्काल आयोगलाई खवर गरेमा ठाउँका ठाउँ समस्या समाधान गर्न सकिने हुनाले तत्काल आयोगलाई जानकारी गराएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।