बुटवल । लुम्बिनी प्रदेशमा बालश्रम शोषण रोकथामका लागि नयाँ परियोजना शुरु भएको छ । शक्ति समूहले विभिन्न संघसंस्थाको सहकार्यमा प्रदेशका चार स्थानीय तहमा बालश्रम शोषण रोकथाम : स्थानागमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना सुरु गरेको हो ।
६ महिना मात्रै सञ्चालन हुने यो परियोजनाको बजेट रु २६ लाख बराबर रहेको समूहले आज बुटवलमा प्रदेशस्तरीय परियोजना परिचयात्मक बैठक तथा बाल श्रम शोषण र मानव बेचबिखनविरुद्ध छलफल कार्यक्रम गरी जानकारी गराएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कपिलवस्तुको कृष्णनगर नगरपालिका, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र नवलपरासीको पालिनन्दन गाउँपालिकामा यो परियोजना सञ्चालन हुने शक्ति समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले जानकारी दिनुभयो ।
उहाँले १९८६ देखि नेपालमा मानव बेचबिखनविरुद्ध १८ जिल्लामा बेचबिखनबाट प्रभावितलाई संगठित गरी सशक्तीकरण गर्दै आएको बताउनुभयो ।
बालबालिकामा हुने लैंगिक हिंसाको प्रभावलाई न्यूनीकरण गर्ने, सेवा प्रदायकको क्षमता सुदृढ गर्ने र स्वास्थ्य, सुरक्षा, न्याय र सामाजिक संघसंस्था समन्वय अभिवृद्धि गर्ने परियोजनाको उद्देश्य रहेको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बालश्रम शोषण अन्त्यका लागि कानून कार्यान्वयन हुन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले बालश्रमशोषण र मानव बेचबिखन अन्त्यका लागि समुदायमा सचेतना जगाउनुपर्ने र निगरानी बढाउनुपर्ने बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिपक नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कुँवर, राष्ट्रिय मानव अधिकार आयोगका लुम्बिनी प्रमुख सोमनाथ सुवेदी, मन्त्रालयका उपसचिव शारदा बेल्बासेले टोलटोलदेखि बालश्रम न्यूनीकरणका लागि अभियान चलाउनुपर्ने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायले अव्यवस्थित सुकुम्बासी बस्तीका बालबालिका बढि शोषणमा परेकाले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।