बुटवल । रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सबैको साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
निर्वाचनमा राजनितिक दलको प्रतिनिधिका रुपमा जित हासिल गरेपनि अब साझा बन्ने बताउनुभयो । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले जनताकोे अमूल्य मतका आधारमा निर्वाचित भएकाले मतको सम्मान गर्ने उल्लेख गर्नुभयो ।
उहाँले देशलाई निकास दिन राजनीतिक स्थायीत्वका जरुरी भएपनि कुनै दललाई बहुमत नआएको बताउँदै उहाँले अहिलेको जनादेशलाई नै स्विकार गरेर त्यसअनुरुप अगाडि बढ्ने बताउनुभयो । एमालेले नेतृत्व नगर्दासम्म देशले निकास नपाउने दाबी गर्दै उहाँले विकास र सामाजिक न्याय निष्कर्षमा पुर्याउन एमालेको नेतृत्व आवश्यक रहेकामा जोड दिनुभयो ।
नेता पौडेलले निर्वाचनमा जित र हार स्वभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने बताउनुभयो ।
कुनै राजनीतिक दललाई बहुमत प्राप्त नहुनु मुलुकका लागि दुर्भाग्य भएको बताउँदै उहाँले यसले राजनीतिक अस्थिरता हुने समृद्धिको यात्रालाई प्रभाव पार्ने बताउनुभयो ।
पत्रकारले राखेको जिज्ञासाको जवाफ दिदै उहाँले सरकारको नेतृत्व गर्ने अवसर एमालेलाई प्राप्त भए प्रधनमन्त्रीका रुपमा केपी ओलीलाई नै पार्टीले अघि सार्ने स्पष्ट पार्नुभयो । निर्वाचनपछि अब भौतिक र मानवीय विकासका काममा केन्द्रीत हुने उहाँको भनाइ छ ।