बुटवल । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र परदेशमा बगाएको पसिनाबाट सिर्जीत रकमको सही सदुपयोग हुन आवश्यक रहेकामा जोड दिइएको छ ।
राज्य अभिभावक भएर वैदेशिक रोजगारीमा जानेबेलादेखि फर्केसम्म सहजीकरण गरेमात्रै रेमिट्यान्सको सही सदुपयोग हुने उनीहरुको भनाइ छ ।
बुटवलमा आज आयोजना गरिएको ‘परदेशको पसिना : कसरी लिने प्रतिफल ?’ विषयमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका ढोका विषयमा छलफल गर्दै राज्यले गरेको लगानी डुब्दैन भन्ने वातावरण बनाइदिनुपर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाएर समृद्धि खोज्नुपर्ने सुझाब दिए ।
वैदेशिक रोजगारीबाट फर्केकाले लिएर आउने रकम मात्र होइन ज्ञान, सीप र उद्यमी बन्ने खुबीलाई प्रयोग गर्न सरकारी नीतिमा सुधार ल्याउन उनीहरुको माग थियो । वैदेशिक रोजगारीबाट फर्केका दुर्गा भुसालले अस्पष्ट नीति, अदुरदर्शी नेतृत्व र भ्रष्ट कर्मचारीतन्त्रका कारण वैदेशिक रोजगारीको रकमको सही सदुपयोग र फर्किएकाहरू उद्यमी बन्न नसकिरहेको बताउनुभयो ।
वैदेशिक रोजगारीमा जानेको निश्चित प्रतिशत रकम बैंकमा अनिवार्य जम्मा गर्ने नीति मात्रै बनाउन सकेपनि फर्केपछि सहज हुने धारणा राख्नुभयो । विश्लेषक ध्रुब आचार्यले रेमिट्यान्सको सही सदुपयोगका लागि वैदेशिक रोजगारीमा गएका परिवारलाई समेत परामर्श गर्नुपर्ने बताउनुभयो ।
किताब पब्लिसर्सले गरेको अन्तरक्रियामा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्किएकाको तथ्यांक वडास्तरबाटै संकलन गर्ने काम भइरहेको बताउनुभयो ।
उपमहानगरले वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनु पर्ने उपाय, रेमिट्यान्सको सदुपयोग र फर्केका युवाको पुर्नस्थापना गर्न उनीहरुबीच छलफल, मनोपरामर्श र उद्यमशीलता कार्यक्रमसमेत संचालन गरिएको उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशका अर्थ सचिव नेत्रप्रसाद सुवेदीले प्रदेशले श्रम तथा रोजगार नीति बनाउँदै गरेको जानकारी गराउँदै वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप मापन गर्न र उनीहरुलाई सीप अनुसारको रोजगारीमा जोड्न बजेट विनियोजन गरिएको बताउनुभयो ।
“वैदेशिक रोजगारीबाट फर्केका युवालाई पुर्नस्थापित गर्न उद्योग खोल्दा प्राथमिकता दिनेदेखि कृषि व्यवसाय, उद्योगधन्दा संचालनमा अनुदानको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “यद्यपि स्थानीय तहबाट यकिन तथ्यांक नआउदा कार्यान्वयनमा कठिनाइ देखिएको छ ।”
सचिव सुवेदीले परदेशको पसिनाको सही प्रतिफल निकाल्न उनीहरुले पठाउने रेमिट्यान्सको सदुपयोगबारे पनि सहजीकरण चलाउने योजना बनाएको उहाँले सुनाउनुभयो ।
श्रमिक संजालका सदस्य संगिता तिमिल्सीनाले वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रेमिट्यान्स धेरैजसो आधारभूत आवश्यकतामै खर्च हुदा त्यसको देखिनेगरी प्रतिफल नहुने बताउनुभयो । “एउटा महिला विदेश गएर कमाएर छोराछोरी पढाउँछिन्, स्वाथ्योपचारमा खर्च गर्छिन् । यसले समाजमा शिक्षित र स्वस्थ जनशक्ति उत्पादनमा भूमिका खेल्छ,” उहाँले भन्नुभयो, “तर समाजले यस्तो काम देखिदैन ।”
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न थुप्रै कार्यक्रम ल्याएको बताएपनि त्यसमा आफ्नो पहुंँच नपुगेको गुनासो उहाँको थियो ।
आप्रवासनबाट फर्केका महिलाको सवालमा सामाजिक विभेद र लाञ्छना बढी हुने भएकाले कतिपय महिला परिवारमै पुर्नस्थापित हुन नसक्ने र मानसिक समस्यामा फस्ने गरेका उहाँले बताउनुभयो ।
लेखक रामचन्द्र श्रेष्ठले राज्य अभिभावक बनेर काम थालेमात्रै वैदेशिक रोजगारीलाई व्यवस्थीत गर्न र त्यसको आयबाट उचित प्रतिफल निकाल्न सकिने धारणा राख्नुभयो । “वैदेशिक रोजगारीमा जान चाहनेलाई सीप र क्षमता विकासदेखि वैदेशिक रोजगारीमा उचित पारिश्रमिक दिन श्रम सम्झौता गर्ने र उनीहरुको आम्दानीलाई आयमूलक काममा लगाइदिने काम राज्यको हो । यो भूमिका राज्यले पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेपालबाट दैनिक एक हजार ३ सय युवा रोजगारीका लागि बाहिरिने गरेको तथ्यांक छ । यसबाट देशमा प्रतिदिन २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको भाग २८–२८ प्रतिशत छ ।
तथ्यांक अनुसार वैदेशिक रेमिट्यान्स मुलुकको ६० प्रतिशत घरमा पुगेको छ । वैदेशिक रोजगारीबाट फर्केपछि पुनः दोहो¥याएर जानेको संख्या ३५ प्रतिशतभन्दा बढी छ । फर्किएकामध्ये ३७.५ प्रतिशत कृषिमा आवद्ध हुन्छन् । थोरैले मात्रै आर्थिक उपार्जनमा लगानी गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।