काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारलाई अन्तिम मतपरिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फका उम्मेदवारले निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४० बमोजिम विवरण पेस गर्नुपर्नेछ। प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवारले निर्वाचन निर्देशिका अनुसूची ३४, प्रदेश सभा समानुपातिक उम्मेदवारले अनुसूची ३६ बमोजिमको ढाँचामा खर्च विवरण पेस गर्नुपर्नेछ।
यस विषयमा जिल्ला–जिल्लाबाट जिज्ञासा बढिरहेको भन्नुहुँदै आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले भन्नुभयो, “प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार रहनुभएका उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले उहाँहरूले जुन–जुन विषयमा निर्वाचन खर्च भएको त्यो विवरण निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र बुझाउनुपर्नेछ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निर्देशिका अनुसूची ४० बमोजिमको ढाँचामा खर्च गरेका बिल, भौचरसहित संलग्न गरेर प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।” उहाँले समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका उम्मेदवारले भने निर्वाचन आयोगमै निर्वाचन खर्च विवरण बुझाउनुपर्ने जानकारी दिनुभयो।
प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ पाँच/पाँचवटा समूहमा निर्वाचन खर्चको हद छुट्टाएको थियो। प्रतिनिधि सभातर्फ २५ लाख, २७ लाख, २९ लाख, ३१ लाख र ३३ लाख रुपियाँसम्म र प्रदेश सभातर्फ १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख रुपियाँसम्मको खर्च सीमा तोकेको थियो। आयोगले तोकेको खर्च सीमाको विभिन्न अनुसूचीमा सम्बन्धित क्षेत्रको मतदाता सङ्ख्या, क्षेत्रफल र मतदान केन्द्रको सङ्ख्यात्मक विवरण उल्लेख छ।
प्रतिनिधि सभा समानुपातिकको हकमा भने बन्दसूचीमा पेस गरेका उम्मेदवारको सङ्ख्याका आधारमा प्रति उम्मेदवार दुई लाख रुपियाँ र प्रदेश सभाको समानुपातिक सदस्यको हकमा प्रति उम्मेदवार एक लाख पचास हजार रुपियाँ राजनीतिक दलले खर्च गर्न पाउने कानुनी व्यवस्था छ।