बुटवल । पूर्वाधार निर्माणका काम नहुँदै हतारमा बुटवलबाट राजधानी नसार्न रुपन्देहीका राजनीतिक दलहरुले लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांङग्रेस र नेकपा (एमाले) रुपन्देहीले आज छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर स्थायी राजधानीका लागि दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नयाँ सरकार नबन्दै बर्तमान कामचलाउ सरकारले राजधानी सार्न नमिल्ने उनीहरुको भनाइ छ । नेपाली कांङग्रेसले राजधानी लैजाने जिम्मा संरचनाहरु निमार्ण भएपछि नयाँ बन्ने सरकारलाई दिनुुपर्ने माग गरेको छ ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बिज्ञप्ती जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निमार्ण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असर तर्फ प्रदेश सरकार सचेत हुनुुपर्ने उल्लेख गर्नुभएको छ ।
यसैगरी नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले पनि विज्ञप्तीमर्फत अस्थायी मुकाम बुटवलमा सुविधा सम्पन्न कार्यालय, संसद् भवन र कर्मचारीको आवास समेत व्यवस्थित रहेका अवस्थामा कुनै संरचना नै नभएको स्थानमा जबरजस्ती राजधानी लैजान खोज्नु गलत कदम भएको ठहर गरेको छ ।
पार्टीका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले आज विज्ञप्तिमर्फत लुम्बिनी प्रदेशको अस्थायी मुकाम (राजधानी) बुटवलबाट हतारमा सार्ने प्रदेश सरकारको निर्णय र सक्रियताप्रति नेकपा (एमाले) रुपन्देहीको ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा समेत हस्तक्षेप नगर्न जोडदार माग गर्नुभएको छ ।
प्रदेश सरकारले तोकेको भौतिक पुर्वाधार निर्माणको कार्यलाई सम्पन्न गरे पश्चात मात्र यसतर्फ ध्यान केन्द्रित गर्न उहाँको अपिल छ ।
कामचलाउ अवस्थामा रहेको लुम्बिनी प्रदेश सरकारले नयाँ सरकार गठन नहुँदै बुटवलबाट सबै मन्त्रालय दाङ सार्ने प्रयास गरेपछि कर्मचारीहरु समेत विरोधमा उत्रिएका छन् ।