काठमाडौँ । आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ ।
गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने गरि ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस सम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने गरि समितिलाई कार्यादेश दिइएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मङ्गलवार आत्मदाहको प्रयास गरी घाइते भएका र उपचारको क्रममा बुधबार बिहान मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।