काठमाडौँ । कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरी जेल चलान गरिएको छ ।
१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका चौधरीलाइ हिजो पक्राउ गरी आज जेल पठाइएको हो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार जानु भएको हो ।
मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने व्यवस्था भएपनि उहाँ जेल जानु भएको हो ।
सांसद चौधरीले रकम तिर्न कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिनु भएको छ । सांसद चौधरीले कारागारबाटै निवेदन दिन सक्ने कानूनी ब्यवस्था छ ।
२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा सांसद चौधरी सहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
नागरिक उन्मुक्ति पार्टीले सभामुखको अनुमति लिनु पर्ने भए पनि त्यो समेत नलिई पक्राउ गरेको भन्दै बिरोध गर्दै आएको छ । तर प्रहरीले भने फौजदारी अभियोगका अभियुक्तलाई पक्रन सभामुखको अनुमति लिन नपर्ने व्यवस्था भएकाले कानुन अनुसार नै उहाँलाई पक्रेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको बताएको छ ।