बुटवल । लुम्बिनीमा आजदेखि भारतीय सन्त मोरारी बापूको रामकथा प्रवचन सुरु हुँदै छ । रामकथा प्रेमयज्ञ समितीको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा ९ दिनसम्म कथावाचन हुने छ ।
प्रवचनका लागि हिजो लुम्बिनी आउनुभएका सन्त मोरारी बापूले पवित्र बुद्धभूमिमा आउन पाउँदा अत्यन्तै खुशी र शान्ति मिलेको बताउनुभएको थियो । उहाँले बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्नुभयो ।
सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गर्नुभएको थियो ।
पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गर्नुभयो ।
वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगेर पानी पिउनुभएको थियो । उक्त अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयल बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिनुभएको थियो । उपाध्यक्ष मैत्तयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्ध जन्मको अकाटय प्रमाण भएको बताउनुभयो ।
उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेख्नुभएको छ । सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरि पूजा गर्नुभएको थियो ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्ने इच्छा अनुसार नै वापू लुम्बिनी आएको आयोजकहरुले बताएका छन् । वापू सहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आउनुभएको हो ।