बुटवल । लुम्बिनी प्रदेशकै धेरै विद्यार्थी भएको बुटवल वहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
जितसँगै अनेरास्ववियुले ०४९ सालदेखिको आफ्नो विरासत कायम राखेको हो । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापतिमा अनेरास्ववियुका दुर्ग बहादुर एमसीले १२ सय १४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ मत प्राप्त गर्नुभयो । त्यस्तै नेवि संघका सागर पौडेलले ४७४ मत प्राप्त गरी तेस्रो हुनुभयो।
सचिवमा अनेरास्ववियुका निलकण्ठ पाण्डेयले १२ सय १५ मत प्राप्त गरी विजयी हुनुभयो भने नेवि संघका माधव खत्री क्षेत्रीले ६०१ मत ल्याउनुभयो । त्यस्तै कोषाध्यक्षमा अखिलका सशांक बस्यालले १२ सय १० मत प्राप्त गरी विजयी हुँदा नेविसंघकी सम्झना पंगेनीले ५१८ मत ल्यउनुभयो । यस्तै सदस्य पदमा पनि अनेरास्ववीयुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।
त्यस्तै समानुपातिकबाट अनेरास्ववियुले ५, अखिल क्रान्तिकारी र नेवि संघले २ र राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूहले १ सिट प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र बिद्यार्थी समुहका बरन्यम राज गौतमको नेतृत्वमा एउटा प्यानल,अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका क्रान्तिकारी बिप्लवका पदम पराजुलीको प्यानल र अखिल क्रान्तिकारी बहुमतका पारस राहादीको प्यानल गरी ६ वटा संगठनबीच प्रतिस्पर्धा भएको थियो ।