काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक बर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल चल्यो ।
छलफलमा सत्तापक्ष सांसदहरुले देशको आर्थिक अवस्थामा सुधार गर्न देशको पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्नसहितको बजेट सकारात्मक रहेको बताउनुभयो । सांसदहरुले बजेट नागरिकले अपनत्व ग्रहण गर्ने, नेपाली उत्पादन र उत्पादकत्व बढाउने र आयात न्युनिकरण गर्नेतर्फ बजेटले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिपक्षी दलका सांसदहरुले बजेट मुलुकको यथार्थ विवरणका आधार नभएको भन्दै सन्तुलित र विकास निर्माणमा विभेद नहुने गरी बजेटलाई सच्चाउनुपर्ने बताउनुभयो ।
छलफलमा सहभागी सांसद अर्जुननरसिंह केसीले संसद्को संसदीय मर्यादा र विशेषाधिकारलाई ख्याल गर्न नसकिएको भन्दै गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
सांसद केसीले आफूले केही दिनदेखि आफ्नो धारणा राख्न खोजे पनि समय नपाएकोले आज बजेटमाथिको छलफलका बीचमा संसदीय मर्यादाका विषय प्रष्ट हुन खोजेको बताउनुभयो ।
आजको बैठक प्रारम्भ भएलगत्तै एमालेका सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले सांसद योगेशकुमार भट्टराईलाई समय दिनुभएको थियो ।
सांसद भट्टराईले कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै सरकारको जवाफ माग्नुभएको थियो ।
जवाफमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान र कानुन विपरीत हुने गतिविधि नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रतिनिधि सभाको आजको बैठक इलाम घटनाका बारेमा जानकारी गराउँदै गृहमन्त्री श्रेष्ठले कानुन विपरीतका गतिविधि नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई भएपनि अराजक गतिविधिलाई सरकारले छुट नदिने बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरूको सुरक्षामा चुनौती उत्पन्न गर्ने जो कोहीलाई पनि सरकारले कानुनी दायरामा ल्याउने बताउनुभयो ।
यसअघि, शून्य, समयमा सांसदहरुले काठमाडौँमा यात्रु बसका लागि बसपार्क समस्या समाधान गर्न, संघीय संसद्मा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने, सर्प दंशको उपचार व्यवस्था गर्नुपर्ने, समयमा कृषि मल उपलब्ध गराउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले महालेखा परीक्षकको ६०आँ वार्षिक प्रतिवेदन २०७९ पेश गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ २८ गते आइतबारका दिन बिहान ११ बजे बस्नेछ ।