बुटवल । पाल्पाको तिनाउ गाउँपालिका भित्र भएका पर्यटकीय सम्भवनाहरुको खोजी र पहिचानसहित लुम्बिनीका फोटोग्राफरहरुले विश्व फोटो ग्राफी दिवस मनाएका छन् । लुम्बिनी फोटो ग्राफर संघको आयोजनामा शनिबार पाल्पाको तिनाउ–३ स्थित सिद्धबाबा मन्दीरमा औपचारिक कार्यक्रम गरी भुत खोलादेखि बसन्तपुर डाँडासम्म ‘पर्यटन प्रवर्द्धनका लागि फोटो ग्राफी यात्रा’ सम्पन्न भएको हो ।
यात्राका क्रममा तिनाउलाई पहिचान दिलाउन सक्ने तथा पर्यटकीय सम्भावना बोकेका विषय, बस्तुलाई उतार्न सक्नेगरी फोटो ग्राफीको प्रतिस्पर्धा समेत भएको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायत विभिन्न ठाउँबाट सहभागी ६५ जना फोटो ग्राफरहरुले तिनाउ चिनाउने फोटो प्रतियोगितामा सहभागी हुँदै पैदल यात्रा गरेका थिए । पाल्पाको सिद्धबाबा मन्दिर बिकास समितिको स्वागतसँगै पैदल यात्राको औपचारिक घोषणा गरिएको थियो ।
पैदल यात्रा गर्दै बसन्तपुर डाँडामा पुगेका फोटोग्राफरहरुलाई स्वागत गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ चिनाउने कुनै पनि सकारात्मक कार्यमा गाउँपालिका सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो । पर्यटकीय सम्भावनाले भरिएको तिनाउमा प्रयाप्त प्रचारप्रसार तथा प्रयाप्त बजेको अभावमा पनि ओझेल परेको उहाँले गुनासो गर्नुभयो । गाउँपालिकाको सीतिम साधन र स्रोतले ती स्थानहरुको बिकासमा लगानी प्रयाप्त नभएको उल्लेख गर्दै श्रेष्ठले संघ र प्रदेश सरकारको चासो कम भएको समेत गुनासो गर्नुभयो । व्यक्ति र राजनीतिक पार्टीको प्रभावमा परेर बजेटको बाँटफाड तथा योजना छनोट गर्ने गरिएको आरोप लगाउँदै उनले विधि र प्रक्रिया अनुसार बिकास योजना अघि बढाउनु पर्नेमा जोड दिनुयो ।
तिनाउमा प्रसस्तै पर्यटकीय र ऐतिहासिक थलो भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले ती क्षेत्रहरुको बिकासका लागि गाउँपालिका निजी क्षेत्रहरुसँग सहकार्य गर्न समेत तयार रहेको उल्लेख गर्नुभयो । यसैगरी गाउँपालिकामा निजी क्षेत्रबाट हुने कुनै पनि ठूला लगानीका लागि आवश्यक सहजीकरण तथा संरक्षकत्वको भूमिकामा तयार रहेको उल्लेख गर्नुभयो । बसन्तपुरलाई चिनाउने गरी सञ्चालनमा आएको लुम्बिनी केवलकार तथा छिट्टै नुवाकोटमा सञ्चालन हुन लागेको केवलकारले यहाँको पहिचानसहित पर्यटन विकामा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै तिनाउ–३ का वडा अध्यक्ष चित्रबहादुर थापा, वडा सदस्य टंक बस्याल, लुम्बिनी केवल कारका प्रोजेक्ट ईन्जिनीयर शनि चौरसीयाले पैदल यात्रामा बसन्तपुरलाई छनोट गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसैगरी फोटो ग्राफर महासंघका केन्द्रीय संयोजक महेन्द्रप्रसाद चापागाईले शब्द र बाक्यहरुले व्याख्या गर्न नसकेका लाखौं भाव र सन्देशलाई एउटा फोटोमा उतार्न सकिने बताउँदै तिनाउ पर्यटकीय सम्भवानाले बोकेको क्षेत्र भएकाले पनि छनोट गरिएको उल्लेख गर्नुभयो । यहाँ लुकेर रहेका विषयवस्तुलाई फोटोको माध्यममा उतारेर विश्वसामु परिचत गराउन सक्यौं भने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बन्न सक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा फोटो ग्राफर संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराई, केन्द्रीय सदस्यहरु कमला तिवारी, माधव प्रसाद पन्थ, दिनेश अर्याल लगायतले बोल्दै यात्राले तिनाउको नयाँ ठाउँबारे जान्ने अवसर समेत प्राप्त भएको उल्लेख गर्नुभयो । लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिस पन्थले तराईको सबैभन्दा नजिक र वातावरणीय हिसाबले विविधता रहेको तिनाउमा धेरै विषयवस्तु भेट्न सकिने भएकाले पैदलयात्रा र फोटो प्रतियोगितामा भुतखोला–बसन्तपुर यात्रालाई छनोट गरिएको उल्लेख गर्नुभयो । महासचिव माधव प्रसाद पन्तको सञ्चानमा भएको कार्यक्रममा फोटो प्रतियोगिताका संयोजक मोहन महतोले प्रतियोगितामा सहभागीहरु मध्येबाट उत्कृष्ट १० छनोट गरी विजेता घोषणा गरिने बताउनुभयो । एक सातामा प्रतियोगिहरुबाट फोटो संकलन गरी उत्कृष्टहरुको छनोट गर्ने र त्यसमध्येबाट प्रथम, द्वितीय, तृतीय छनोट गरी पुस्कार वितरण गरिने उल्लेख गर्नुभयो ।