तिलोत्तमा । नेपाल जुनियर युवा सर्कल जनभावना मावि तिलोत्तमा ८, दीपनगरको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । युवा सर्कलका अध्यक्ष सागर खनालको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई रक्त सञ्चार सेवा केन्द्र बुटबलले व्यवस्थापन गरेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, भूतपूर्व विद्यार्थी तथा अभिभावकहरुले रक्तदान गरेका थिए । सो अवसरमा २२ युनिट रगत संकलन भएको आयोजकले जनाएका छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्री, प्रधानाध्यापक शम्भु प्रसाद पराजुली, शिक्षक नायक रेनुका श्रेष्ठ, शिक्षक शालिकराम भुसालले रक्तदानको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।