कृष्णनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छाडाचौपाया दिगो व्यवस्थापन गरिने बताउनुभएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आयोजित छाडा चौपाया व्यवस्थापनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा प्रदेशमा छाडाचौपाया व्यवस्थापनका लागि विकास समिति बनाइन समेत मुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो ।
उहाँले लुम्बिनी प्रदेशस्तरीय विकास समितिमा लुम्बिनी प्रदेशका एक सय नौवटै पालिकाका प्रमुखलाई सदस्य बनाई चौपायाको दिगो व्यवस्थापन गरिने बताउनुभयो । अहिले छाडा गाई सबैभन्दा बढी समस्या भएको हुँदा गाईलाई उत्पादनसँग जोडेर अघि बढ्ने गरी योजना बनाइने पनि उहाँको भनाइ छ । ‘छाडा चौपाया व्यवस्थापनका लागि एक विज्ञ समूह बनाई यही महिनाभित्रै व्यवस्थापन सुरु गरिनेछ’, उहाँले भन्नुभयो ।
प्रदेशसभा सदस्य तथा पूर्वस्वस्थ्यमन्त्री विष्णु पन्थीले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै योजनाका साथ काम गर्ने बताउनुभयो । जिल्लामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेकाले यस विषयमा लुम्बिनी प्रदेश सरकार गम्भीरका साथ लाग्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
अन्तरक्रिया व्यवस्थापन गरेको बुद्धभूमि नगरपालिका नगरप्रमुख केशवकुमार श्रेष्ठले पशु चौपायाले धानबाली सखाप बनाएको हुँदा यो समस्या तत्काल समाधान गरिनुपर्ने धारण राख्नुभयो । सो अवसरमा बोल्ने अधिकांशले छाडा चौपाया गाईलाई कपिलवस्तुको बुद्धभूमि नपाको तीनघरवा जङ्गलमा तारबार गरी राख्नु सुझाव दिनुभयो ।
छाडा चौपाया व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा १० वटा पालिकाका जनप्रतिनिधि, वन कार्यालयका प्रतिनिधिलगायतको सहभागिता थियो ।