बुटवल । ब्रह्मण समाज नेपाल, बुटवल उपमहानगरपालिका वडा नम्बर २ ले मंगलबार तीज मिलन तथा दरखाने कार्यक्रम गरेको छ । तीजको मौलिक परम्परा संरक्षण गर्दै तीज मिलन कार्यक्रम गरेको हो ।
सो अवसरमा बोल्दै ब्राह्मण समाज नेपाल रुपन्देहीका अध्यक्ष टोपलाल भुसालले नेपाली पर्वहरु भडकिला बन्दै गएको भन्दै संरक्षण र आफनै शैलीमा मनाउनुपर्ने बताउनुभयो । भुसालले तीजको मौलिकता जोगाउनुपर्नेमा जोड दिनुभयो ।
ब्रह्मण समाज नेपाल, बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्ण पौडेलले महिला दिदीबहिनीले आफ्नो भेषभूषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने धारणा राख्नुभयो । पौडेलले चाडपर्व, संस्कृति र पहिचानलाई जोगाइ राख्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा समाजका सल्लाहकारहरु कृष्णप्रसाद पोखरेल, टिकाराम पौडेल, नगर अध्यक्ष हरि प्रसाद घिमिरे, कोषाध्यक्ष जीवलाल पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम संयोजक तथा उपाध्यक्ष सावित्रा पन्थीको स्वागत तथा सचिव बसन्ती बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न महिला दिदीबहिनीहरु मौतिक तीज गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो ।