गैडहवा, भदौ २६ । क्षेत्र नं. ५, रुपन्देही अन्तर्गत् रहेका गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाका बहुसंख्यक जनतालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न नेपाल सरकारसमक्ष माग गर्ने विषयमा मंगलबार गैडहवाको प्रमुख प्रशासनिक कार्यालयमा सर्वदलीय बैठक बसेको छ । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्मा, गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । बैठकले क्षेत्र नं. ५, रुपन्देही अन्तर्गत् रहेका गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाका बहुसंख्यक जनतालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न नेपाल सरकारसमक्ष माग गर्ने निर्णय सर्वसम्मत गरेको छ ।
बैठकमा प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले क्षेत्र नं. ५ का बहुसंख्यक जनतालाई पायक पर्ने स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने विषयलाई आफूले आफ्नो चुनावी प्रतिबद्धतामा उल्लेख गरेको र सम्बन्धित निकायमा यो विषयलाई पटक—पटक उठाउँदै आएको स्पष्ट पार्नुभयो । उहाँले क्षेत्र नं. ५ मा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा आफूले गृह मन्त्रालयमा आवश्यक समन्वय गर्ने बताउँदै क्षेत्र नं. ५ का बासिन्दाको सहज प्रशासनीक सेवाका लागि ईलाका प्रशासन कार्यालय स्थापनाको अगुवाईं निरन्तर गर्ने बताउनुभयो ।