बुटवल । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको ७० औँ वार्षिक साधारण तथा २५ औँ अधिवेशनमा अध्यक्षका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठको प्यानलले बिहीबार घोषणासभा गरेको छ । आधा दर्जन पूर्वअध्यक्षसहितको घोषणा सभामा पूर्वअध्यक्षहरु जीवन ओझा, नवराज श्रेष्ठ, महेशमान सिह, सुरेन्द्र श्रेष्ठ, खेम हमाल, वर्तमान अध्यक्ष उज्ज्वल कसजूले उम्मेदरवारहरुलाई फुलमालासहित स्टेजमा सार्वजनिक गरेका हुन् ।
संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्ष विमल भट्टराई, महासचिव बाबुराम विक, सचिव प्रतीक पोखरेल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष जाकिर हुसैनलाई अगाडि सारेको छ । केही समयसम्म दुवै पक्षको साझा उम्मेदवार भनिएका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष विमल भट्टराई पनि श्रेष्ठको प्यानलमा भएको घोषणासहित टिमको प्रतिबद्धताहरू सार्वजनिक गरे ।
कार्यक्रम सञ्चालन गर्नुभएका पूर्वअध्यक्ष सुरेन्द्र श्रेष्ठले उम्मेदवारको व्यवसायिक र सामाजिक योगदानबारे प्रकाश पार्नुभयो । बुटवलको व्यवसायसँगै सामाजिक कार्यमा संघको योगदानसमेत उहाँले बताउनुभयो । कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठले आफ्नो प्रतिबद्धता जनाउँदै बुटवल शहरलाई मुलुककै अन्य क्षेत्रीय शहर एवं बजारहरुसँग प्रतिस्पर्धी बजार बनाउने पहल गर्ने, व्यवस्थित पार्किङको पहल गर्ने, व्यवसायमैत्री वातावरण गराउने, उपभोक्तालाई सिमावर्ती भारतीय बजार किनमेलमा जान रोक्ने गरी जागरण ल्याउने बताउनुभयो ।
त्यस्तै व्यवसायिक हकहित र शान्ति सुरक्षाको लागि पहल गर्ने, सामरिक, पर्यटकीय, उद्यानहरुको प्रवद्र्धन हुने गरी भूमिका खेल्ने, व्यवसायी र घरधनीको बिचमा समन्वयात्मक भूमिका निर्वाह गर्ने, कर, राजश्व र भन्सारको समस्यालाई प्राथमिकताका साथ सम्बन्धित निकायसँग सहकार्यको पहल गर्ने, बैंक र वित्तीय संस्थालाई वर्तमान आर्थिक मन्दीको अवस्थाबारे सरोकारवाला संस्थाहरुसँग समाधानको उपायबारे पैरवी गर्ने, प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रलाई स्थापित गर्न सम्बन्धित निकायसँग पहल गर्ने बताउनुभयो ।