बुटवल। सञ्चारिका समूह लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा फरक किसिमको कार्यक्रमको आयोजना गर्दै दाजुभाई सम्मान गरेको छ । दाजुभाई र दिदीबहिनीको मेलमिलापको प्रतीक मानिएको तिहारमा फरक खालको सन्देश दिन सञ्चारिकाले यस्तो कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहभागीले यसले आपसी मित्रता प्रगाढ हुने भन्दै यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि अघि बढाउन सुझाव दिए । पत्रकार महिलाहरु मात्रै आवद्धसंस्था सञ्चारिका समूहले पत्रकारितामा लागेका दाजुभाईबिचको आपसी सम्बन्ध, भाईचारा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले बताउनुभयो ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीलाई तिहार बिशेष दाजुभाई भेटघाट सम्मान २०८० बाट सम्मान गरिएको छ । कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञवालीलाई नेपाली ढाकाटोपी, दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अर्यालले रुपन्देहीमा पत्रकार महिलाहरुको सक्रियताको खुलेर प्रशंसा गर्नुभयो । महिलाहरुले नेतृत्व लिएका संघसंस्थाहरु र कार्यालयमा भ्रष्टाचार नभएको, अनुशासन कायम रहेको भन्दै पत्रकार महिलाहरुले चाडपर्वको अवसरमा दाजुभाईका बिचमा आपसी सम्बन्ध प्रगाढ राख्न र सांस्कृतिक महत्व कायम राख्न कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पश्चिमा संस्कृति र आधुनिकताले मौलिक संस्कृतिसंकटमा पर्न लागेको भन्दै यसलाई सबै मिलेर जोगाउनुपर्ने बताउनुभयो । अर्यालले पत्रकारले जहिले पनि खोजी पत्रकारितामा कलम चलाउन आग्रह गर्दै एकआपसमा मर्यादित भएर चाडपर्ब मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकले चाडपर्वबाट एक किसिमको संस्कारको विकास हुने बताउनुभयो । रुपन्देही पत्रकार बिचको समावेशिता र समानता उदाहरणीय रहेको बताउँदै सत्यताको कसीमा बाँधेर समाचार सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभयो बिकले चाडपर्वको समयमा पटका पड्काउन कानुनी रुपमा बर्जित गरिएकोले सांस्कृतिक रुपमा देउँसी भैलोका गितहरुबाट रमाईलो गर्नपर्ने बताउनुभयो ।
पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले फरक ढंगबाट कार्यक्रमको आयोजना गरेको बताउँदै आजको कार्यक्रममा सहभागी हुँदा खुशीको सिमा नरहेको बताउनुभयो ।
पत्रकार महासघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार समाजका ऐना भएकोले फरक ढंगको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । पत्रकारको भौतिक सुरक्षाका बिषयमा संवेदनशील हुन प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो । अहिले सामाजिक संजालका कारण पत्रकारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा समस्या परेको भन्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन अनुरोध गर्नुभयो । बरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले महिला सञ्चारकर्मीको सक्रियताले अब समानता कायम भएको अनुभुती भएको बताउनुभयो ।
सम्मानित व्यक्तित्व अर्जुन ज्ञवालीले आज सम्म धेरै ठाउँमा सम्मानित भएको तर पत्रकार महिलाहरुले तिहारको अवसरमा गरेको सम्मानले मन हर्षित भएको बताउनुभयो ।
बुटवल उद्योग बाणिज्य संघका रुपनदेहीका अध्यक्ष हरि अर्यालले पारिवारिक र सामाजिक सद्भाव बढाउने कार्यक्रम जुनसुकै सस्थाले पनि आयोजना गर्नुपर्ने बताउनुभयो । संघले तिहारको अवसरमा दिपावली महोत्सवको आयोजना गरेको जानकारी दिदै सबैको साथ सहयोग र सामिप्यताको उहाँले अपेक्षा गर्नुभयो ।
शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोबिन्द खनालले एकआपसमा आत्मियता साटासाट गर्ने कार्यक्रमले समाजमा सकारात्मक सन्देश जानेगरी आयोजना गरिएको कार्यक्रमलाई नितन्तरता दिनुपर्ने बताउनुभयो । रुपन्देहीमा रहेका क्रियाशिल पत्रकारहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सञ्चारिका समूह लुम्बिनीका कोषाध्यक्ष उषाकिरण पन्थ, सचिव माया केसी र सदस्य तथा कार्यक्रम संयोजक रिया क्षेत्रीले बोल्दै दाजुभाई दिदिबहिनी बिचको सम्बन्ध र तिहारको महत्वका बिषयमा आआफ्ना भनाई राख्नुभएको थियो ।