बुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । नयाँ बसपार्कलाई सुविधा सम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो ।
स्नानगृहको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । उहाँले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उदेश्यका साथ सुविधासम्पन्न स्नानगृह सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले बसपार्कमा हाइमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेशन, कोशेली घर र बहुतले पार्किङ भवन निर्माण हुने बताउनुभयो ।
‘हाइमास्ट लाइट जडान भइसकेर परीक्षणको क्रममा रहेको छ, विद्युतीय गाडीहरुको चार्जिङ स्टेशन सञ्चालनमा आएका छन्,’ उहाँले भन्नुभयो, ‘क्यान्टिन अब छिटै सञ्चालन हुनेछ भने कोशेली भवन र पार्किङ भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।’ उहाँले बसपार्क सुरक्षित र सुविधासम्पन्न हुनुपर्ने भन्दै त्यसअनुसारका सुविधाहरु थप गर्दै लगेको बताउनुभयो । ‘बसपार्कको सरसफाइ गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई हामीले छिट्टै नै अगाडि बढाउँछौँ,’ उहाँले भन्नुभयो, ‘बसपार्कलाई सफा राख्ने र सुरक्षित राख्ने काममा यहाँका समितिहरु पनि उत्तिकै सक्रिय हुन जरुरी छ ।’ उहाँले सरसफाइमा नियमित रुपले खटिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने बुटवल उपमहानगरपालिकाको अभियान राम्रो भएको बताउनुभयो उहाँले बसपार्कलाई व्यवस्थित बनाउनका लागि आफुहरुको साथ रहने बताउनुभयो ।
बसपार्कमा निर्माण भएको स्नानघरमा ११ वटा शौचालय, १७ वटा युरिनल, ४ वटा बाथरुम तथा २ वटा बालमैत्री, २ वटा अपाङ्गमैत्री शौचालय रहेका छन् । स्नानगृहमा मौसमअनुसार चिसोतातोपानीका लागि सोलार प्यानल जडान गरिएको र शौचालयको फोहोरबाट बायोग्यास उत्पादन गरी स्नानगृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर रुक्मागत बस्यालले जानकारी दिनुभयो ।