बुटवल। बुधबार नेपाली आकाशमा १०८औं जहाज दुर्घटनामा परेको छ । जसमा ९५९ जनाले ज्यान गुमाइसकेका छन् । सौर्यको यो जहाज आन्तरिक उडानको ५४औं जहाज दुर्घटना हो ।
क्यानडामा बनेको सीआरजे २०० जहाज विश्वमा सबैभन्दा सुरक्षित जहाजमध्ये एक मानिन्छ । यो सिरिजका जहाज विश्वभर एक हजार एक सय वटा मात्र निर्माण भएका छन् । जसमध्ये मुस्किलले एक दर्जन जहाज मात्र दुर्घटनामा परेका छन् । यति सुरक्षित जहाज नेपालमा दुर्घटना हुनुले पुनः नेपालको हवाई सुरक्षामाथि प्रश्न उठेको छ ।
त्रिभुवन विमानस्थलमा फायर फाइटिङ र रेस्क्यु टिममाथि प्रश्न उठेको पहिलो पटक होइन । बुधबारको दुर्घटनालाई २८ फागुन २०७४ मा बंगलादेशबाट काठमाडौं आएको यूएस बंगला जहाज दुर्घटनाको फोटोकपी जस्तै मान्न सकिन्छ । त्रिभुवन विमानस्थलको डिलमै भएको सो दुर्घटनामा ५१ जना स्वदेशी तथा विदेशी नागरिकको ज्यान गएको थियो । सो दुर्घटनामा समेत नियामक निकायमाथि रेस्क्यु ढिला थालेको भन्दै आलोचना भएको थियो ।
१ माघ २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना समेत सुविधा सम्पन्न विमानस्थलको नजिकै भएको थियो । पोखरा विमानस्थल फायर फाइटिङ सुविधाको क्याटागोरी ५ मा पर्छ । सो दुर्घटनामा समेत रेस्क्यु समय र व्यवस्थापनमाथि धेरै प्रश्न उठेको थियो ।
हरेक वर्ष १० देखि २० लाख रुपैयाँसम्म खर्च गरेर विमानस्थलमा फुल रेस्क्यु इमर्जेन्सी अभ्यास गर्ने गरिन्छ । यस्तो अभ्यास वास्तविक दुर्घटनाका बेला जनशक्ति खरो उत्रिन र दुर्घटनामा मानवीय क्षति कम गर्न सक्षम होउन भन्ने उद्देश्यले आयोजना गरिन्छ । तर, दोहोरिरहेका दुर्घटनाका श्रृङ्खलाले यी अभ्यासको औचित्यमाथि नै प्रश्न उठाएको छ ।
त्रिभुवन विमानस्थल फायर फाइटिङ क्याटागोरीमा ९औं स्थानमा आउँछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको वर्गीकरणमा सबैभन्दा सुविधा सम्पन्न विमानस्थललाई १० औं क्याटागोरीमा राखिन्छ । त्यो भन्दा एक स्थान तल त्रिभुवन विमानस्थल आउँछ । यस हिसाबले त्रिभुवन विमानस्थल सुरक्षित विमानस्थलभित्र पर्छ । तर, दुर्घटना र यसपछिको रेस्क्युमा देखिन नसकेको तत्परताले विमानस्थलभित्र रहेको फायर फाइटिङको क्षमतामाथि प्रश्न उठिरहेको छ ।