बुटवल । एयर एसिया समूहको लगानी रहेको थाइ एयर एसियाले नेपालमा उडान अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियालाई भैरहवा उडान गर्ने शर्तमा काठमाडौंमा उडान अनुमति दिएको बताएको छ । प्राधिकरणका अनुसार थाइ एयर एसियाले सातामा ७ उडानको अनुमति पाएको छ ।
यसमा एयररलाइन्सले हप्तामा ४ उडान भैरहवामा गर्नेछ भने ३ उडान काठमाडौंमा गर्ने भएको छ । थाइल्याण्डको बैंककबाट काठमाडौं र भैरहवा उडानका लागि थाइ एयर एसियाले उडानका लागि अनुमति पाउन निकै प्रयास गर्दै आएको थियो । यो कम्पनीको मूल कम्पनी एयर एसियाले मलेसियाबाट उडान गर्दा काठमाडौं विमानस्थलको बक्यौता नतिरी बाहिरिएको थियो ।
२४ करोड बक्यौता रहेकाले थाइ एयर एसियामार्फत नेपाल फर्किन चाहे पनि पुरानो बक्यौता नतिरी उडान अनुमति दिन प्राधिकरण हच्किएको थियो । त्यसपछि एयर एसियाले किस्ता सुविधा माग गर्दै बक्यौता तिर्ने सम्झौता गरेको थियो । २४ महिनामा २५ करोड रुपैयाँ तिर्ने र त्यसका लागि बैंक ग्यारेन्टी पेश गरेको थियो । पछिल्लो ६ महिनादेखि नियमित किस्ता बुझाइरहेको प्राधिकरणले जानकारी दिएको छ ।