बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मणिग्रामस्थित शान्ति नमूना माविकी शिक्षिक सिर्जना पौडेलको अपरेसनबाट बच्चा जन्माइसकेको केही घण्टामा मृत्यु भएको हो । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् ।
उहाँलाई सुत्केरी गराउन तिलोत्तमा–४ ड्राइभरटोलमा रहेको ओम अस्पतालमा बुधबार लगिएको थियो । त्यहाँं सर्जरी गरेर उहाँले साढे आठ बजे छोरीलाई जन्माउनु भएको थियो । आफन्तका अनुसार उहाँ अपरेशन पछि होसमा आइसक्नु भएको थियो ।
आफन्त गंगाधर भण्डारीका अनुसार साँंझ तीन बजेपछि चिकित्सकहरु हडवडाएको देखियो । त्यसपछि उहाँलाई आईसियूमा राख्नुपर्ने भन्ने कुरा भयो । तर सो अस्पतालमा आइसियू थिएन । ‘शल्यक्रिया हुने अस्पतालमा आइसियूसम्म नहुनु दुर्भाग्यपूर्ण देखियो’ पीडितका दाजु पर्ने गंगाधरले भन्नुभयो । ‘त्यसपछि त्यहाँंबाट रिफर गरेर लुम्विनी प्रादेशिक अस्पतालमा लगियो ।’
त्यहाँं लगेर रगत चेकजाँंच गर्दा रगतमा खराबी देखियो । अपरेशन गर्नु अगाडिसम्म ठिक भएको उहाँको रगतमा संक्रमण देखियो । उहाँलाई सेतो रगतको आवश्यकता पर्यो । यसैका लागि बुटवल रक्तसञ्चार केन्द्रमा पुगेर खोजियो । तर त्यहाँ रगतलाई सेतो बनाउने मेशिन नचलेको रहेछ । त्यसपछि फेरि रगतलाई ह्वाइट रगत बनाउन भैरहवा मेडिकल कलेज लगियो ।
यी सबै काम गर्दा राति १२ बजिसकेको थियो । जतिबेला सिर्जनाको निधन भइसकेको थियो । दिउँसोसम्म केही नभएकी सुत्केरीको तीन बजेबाट पिसाव रोकिएको उपचारमा संलग्न प्रसुती रोग विशेषज्ञ डा. शर्मिला शर्माले बताउनुभयो । ‘पिसाव रोकिएपछि म लगायत फिजिसियन र अल्ट्रासाउण्ड गर्ने चिकित्सकहरु समेत बोलाएर हेरियो, तर शल्यक्रियाका क्रममा कुनै खरावी नभै अन्य कुनै कारणले पिसाव रोकिएको पाइयो, त्यसपछि बिरामीको प्लेटलेट्स पनि घट्दै गयो र ३५ हजारसम्म झर्यो’ डा. शर्माले भन्नुभयो । ‘यो एक हजारमा एक जनालाई हुने सम्भावना रहन्छ ।’
अकस्मात स्वास्थ्य जटिल भएको र त्यहाँदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा लगेको केही घण्टाभित्रै अकस्मात मृत्यु भएको भन्दै आफन्तहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । आइसियु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैङ्कमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै आफन्तले दुःख व्यक्त गरेका छन् ।
उहाँको यसअघिकी ६ वर्षीया छोरी हुनुहुन्छ । तर उहाँपनि अटिजमकी विरामी हुनुहुन्छ । यसले ती दुवै छोरीको भविष्य अन्धकार भएको छ । दुवैको पालनपोषण कसरी र कसले गरिदेला भन्ने चिन्ता छाएको आफन्तले बताएका छन् ।