रोल्पा । रोल्पामा पहिरोमा परी एकै घरका दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनछहरी गाउँपालिका वडा नं ४ सिउरी कामीडाँडाका ६५ वर्षीया वसुना सुनार र उहाँकी नातिनी चार वर्षीया माया सुनारको मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
गएराति करिब ४ बजेतिर पहिरोमा देउसिंह कामीको १ तले कच्ची घर पहिरोमा पुरिएको खबर पाएलगत्तै प्रहरी चौकी सिउरीबाट प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाको नेतृत्वमा ४ जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो । लगातारको वर्षा र पहिरो झरिरहेका कारण उद्धारमा समस्या परेको प्रहरीको भनाइ छ ।
पुरिएको घरबाट शनिबार बिहान दुईजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । देउसिंह कामी र उहाँकी श्रीमती घरमा नभएकोले ज्यान जोगिएको छ ।