बुटवल–बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायालिसिस गराईरहेका बिरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ।
नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनीहरुको निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड–१९ बीमा गर्ने निर्णय गरिएको बताए।
कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका बिरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने आलमले बताए।
‘बिरामीहरुको कोरोना बीमा गरिदिदा अस्पताललाई सामान्य आर्थिक भार थपिएपनि संक्रमण भईहाल्यो भने बिरामीहरुको लागि भने त्यसले ठूलो राहत मिल्ने छ’–आलमले भने ।
सरकारले मिर्गौलाका बिरामीहरुको डायालिसिस निःशुल्क गरेपनि अन्य औषधी तथा बेलाबेलामा गर्नुपर्ने ल्याब परीक्षणलाई निःशुल्क गरेको छैन।
अस्पतालले भने डायालिसिसबाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाईरल टेष्ट समेत सबै बिरामीहरुको निःशुल्क गर्दै आएको छ।
त्यस्तै अति विपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका बिरामीहरुको औषधि तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ।
त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायालिसिसको लागि अस्पताल आउने बिरामीहरुलाई नियमित अस्पताल ल्याउने र छोड्ने व्यवस्था समेत गर्दै आएको छ।
अस्पतालले डायालिसिसको बिरामीहरुलाई लैजान र छोड्नको लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ।
अस्पतालमा हाल ४ सय २६ जनाले नियमित मिर्गौलाको डायालिसिस गराउँदै आएका छन्। काठमाडौभन्दा बाहिर सबैभन्दा ठूलो मिर्गौलाको डायालिसिस युनिट सञ्चालन गर्दै आएको मुटु अस्पतालमा बुटवलमा ३ सय ५४, दाङको लमहीमा ४९ र पाल्पामा २३ जना बिरामीले नियमित डायालिसिस गराउँदै आएका छन्। अस्पतालले बुटवलमा २० तथा लमही र पाल्पामा १०÷१० वटा मेशिनबाट डायालिसिस सेवा सञ्चालन गर्दै आएको छ।
त्यस्तै स्याङजाको वालिङमा पनि डायालिसिस सेन्टर सञ्चालनको अन्तिम तयारीमा रहेको अस्पतालले जनाएको छ।