भैरहवा-विगत २ साता देखि रुपन्देहीमा सक्रिय संक्रमितहरुको संख्या स्थिर छ । समुदाय स्तरमा फैलिएको कोभिड–१९ संक्रमण भदौ २४ गते ७१८ पुगे पनि सो संख्यामा खासै बृद्धि भएकोे छैन।
शनिबार साँझ ६ बजे सम्म रुपन्देहीमा ६६४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। २ साता अघिकै सरदरमा अहिले पनि सक्रिय संक्रमित छन्।
‘जिल्लाका विभिन्न क्षेत्रमा दैनिक रुपमा संक्रमितको संख्या थपिदै गएपनि संक्रमणमुक्त हुनेको संख्या पनि सोही हाराहारीमा भएकोले सक्रिय संक्रमितको संख्या स्थीर छ’ स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले भने-संक्रमितको संख्या स्थीर देखिएपनि जोखिम घटेको छैन, समुदायमा संक्रमण छ सबै चनाखो हुनुपर्छ । बजार खुल्दै जादा भाइरसको ट्रान्समिसन स्वतः बढेको छ, हाल लक्षण देखिएकोलाई मात्र स्वाब परिक्षण गरिने भएकोले संक्रमण कम देखिएको छ ।'
उनले समुदाय उच्च जोखिममा रहेको बताउँदै संक्रमण कुन अवस्थामा छ भन्ने यकिन गर्न नसकिने बताए। 'केस कम देखिनु भनेको संक्रमण नहुनु भन्ने होइन, बजारमा आधाले मास्क नै लगाएका छैनन्।
यसमा भौतिक दुरी र मास्कको प्रयोग नै ट्रान्समिसन नियन्त्रण गर्ने उपाय हो’-शाहले लुम्बिनी टाइम्ससँग भने।
आज शनिबार ६६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् भने ११५ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप २१ महिला र ४५ पुरुषमा संक्रमण देखिएको छ। थपिएका संक्रमितसगै जिल्लामा संक्रमितको संख्या दुइ हजार ४ सय १२ पुगेको छ।
विभिन्न ल्याबका परिक्षण रिर्पोट अनुसार शनिबार साँझ साढे ६ बजे सम्म विभिन्न ८ पालिकामा संक्रमीत थपिएका छन्।
कार्यालयका अनुसार हालसम्म संक्रमण भएका मध्ये २२ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १७२६ जना निको भएर फर्किसकेका छन् भने ६६४ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।