भैरहवा–रुपन्देहीमा मंगलबार ६८ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै रुपन्देहीमा संक्रमितको संख्या २ हजार ५ सय ६४ पुगेको छ। मंगलबार रुपन्देहीमा ६३ जना संक्रमणमुक्त भएका छन्।
विभिन्न प्रयोगशालामा गरिएका परीक्षण अनुसार शुक्रबार साँझ साढे ५ बजेसम्म विभिन्न ७ पालिकामा २० महिला र ४८ पुरुष कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १५ महिला ३० पुरुष गरी ४५ जनामा थप संक्रमण देखिएको छ।
त्यस्तै सिद्धार्थनगरमा १० जना, तिलोत्तमामा ७ जना, सैनामैना र शुद्धोधनमा २/२ जना, देवदह र लुम्बिनी सांस्कृतिकमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।
कार्यालयका अनुसार हाल सम्म संक्रमण भएका मध्ये २३ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १९०४ जना निको भएर फर्किसकेका छन् भने ६३७ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।
*हेडलाईनमा ६८ जना हुनुपर्नेमा प्राविधिक त्रुटिवश अन्यथा भएकाले सच्याइएको छ।-सम्पादक